बाग्मती प्रदेश राजधानीमा ‘हेटौंडा रन’ प्रतियोगिता हुने

बाइलाइन नेपाल
१९ माघ २०७६, आईतवार १९:४०

हेटौंडा । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै बाग्मती प्रदेश सरकारले राजधानी हेटौंडामा ‘हेटौंडा रन’ प्रतियोगिता गर्ने भएको छ । यो प्रतियोगिता हेटौंडामा पहिलो पटक हुन लागेको हो ।

बिशेष गरी ठूला सहरका सडकमा हुने प्रतियोगिताको नक्कल गर्दै भिजिट नेपाललाई प्रबर्धन गर्नका लागि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले पर्वतीय खेलकुद महासंघसँगको सहकार्यमा प्रतियोगिता गर्न लागेको जनाइएको छ ।

माघ २५ गते हुने प्रतियोगितामा पुरुष र महिला हेटौंडामा आयोजकले तय गरेको गन्तव्यमा दौडने छन् । प्रतियोगिताको संयोजन गरिरहेको पर्वतीय खेलकुद महासंघ बाग्मती प्रदेशका संयोजक मीना लामाले पुरुषतर्फ १० किलोमिटर, महिलातर्फ ५ किलोमिटर तथा सहभागिता मुलक ३ किलोमिटर ‘फन रन’ गर्न लागिएको जानकारी दिइन् ।

प्रतियोगिताको रुपमा हुने १० किलोमिटर पुरुष र पाँच किलोमिटर महिला दौड हुने छ भने सहभागिता मुलक फन रनलाई शहरहरुमा हुने रमाइलो यात्राको रुपमा समाबेस गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजयीमध्ये प्रथमले ५०, द्धितीयले ३० र तृतीयले २० हजार रुपैयाँसहित शिल्ड र मेडल पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी बन्ने पुरुष तथा महिलाले सान्त्वना पुरस्कार स्वरुप १० र ५ हजार रुपैयाँ प्राप्त गर्ने हेटौंडामा महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि अनलाइन तथा खुल्ला फर्म भर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

दौडमा सहभागी हुनका लागि जिल्ला बाहिरबाट ४५ जना खेलाडी हेटौंडा आउने छन् भने स्थानीय स्तरका खेलाडी पनि सहभागी हुने महासंघका सचिव सफल अधिकारीले जानकारी दिए ।

हेटौंडाको हुप्रचौरबाट सुरु हुने १० किलोमिटर पुरुष र ५ किलोमिटर महिला दौड बुद्ध चौक, नगरपलिका रोड, सानोपोखरा, कान्तिलोकपथ, माछाप्लान, कमाने, भौरबरोड हुँदै हुप्रचौरसम्म रहने छ ।

प्रतियोगितामा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा विदेशी खेलाडी, नगरप्रमुख, सरकारी कर्मचारी, जनप्रतिनिधि, पूर्वमिस नेपाल, प्रहरीसहित विभिन्न संघसंस्थाका प्रतिनिधि गरी ७ हजार ५ सय जनाको सहभागिता जुटाउने बताइएको छ ।

प्रतियोगिताका लागि ३८ लाख १७ हजार रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ । दौडका लागि मन्त्रालयले ८ लाख, उपमहानगरपालिकाले २ लाख रुपैयाँ बजेट छुट्याएको बताइएको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव शिवकुमार वाग्ले, खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, विभिन्न उपसमितिका संयोजकहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*