कृषि तथा वन विश्वविद्यालय हेटौंडाका विद्यार्थी र डिनसहितको टोलीको वार्ता सुरु

बाइलाइन नेपाल
१७ माघ २०७६, शुक्रबार १५:५२
भर्ना विवाद हुँदा वन संकाय हेटौंडामा विद्यार्थीले गरेको आन्दोलन ।

हेटौंडा । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) वन संकाय हेटौंडाका विद्यार्थीहरुले डिन बलराम भट्टसहितका पदाधिकारीलाई करिब ३ घण्टा थुनेपछि अहिले फेरि वार्ता सुरु भएको छ ।

वार्ता बसिरहेको अवस्थामा विद्यार्थी संगठनका प्रतिनिधिले वार्तास्थलबाट बाहिर आएर डिनसहितका पदाधिकारीलाई कोठाामा बन्द गरिदिएका थिए । करिब ३ घण्टापछि विद्यार्थी संगठनका प्रतिनिधि र डिन भट्टसहितको टोलीसँग वार्ता सुरु भएको छ ।

वार्ता स्थलबाहिर विद्यार्थीहरुले नाराबाजी गरिरहेका छन् । ४० दिन देखि विद्यार्थी आन्दोलनमा उत्रिएपनि विश्वविद्यालयले बेवास्ता गरेको भन्दै आन्दोलित विद्यार्थीले पदाधिकारीलाई थुनेको बताए ।

विद्यार्थीको माग पुरा नगरे फेरि थुन्ने चेतावनी विद्यार्थीहरुले दिएका छन् । उनिहरुले विश्वविद्यालयले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको आरोप लगाउँदै आएका छन् ।

विश्वविद्यालयले लिएका भर्ना प्रक्रियाको विरोध गर्दै यहाँका विद्यार्थीहरु आन्दोलित भएका हुन् । विश्विद्यालयले निर्धारण गरेको मेरिट कोटा अनुसार नभएर आफूखुसी शक्तिको दुरुपयोग गर्दै जथाभावीरुपमा छात्रबृत्ति छनौट गरिएको भन्दै विद्यार्थीहरुले पुस ७ गतेदेखि तालाबन्दी गरेका थिए ।

विश्विद्यालय प्रवेश परीक्षामा मेरीट छनोट गर्दा निजी क्याम्पसलाई प्रोत्साहन दिन गतवर्षको नियमलाई परिवर्तन गराएपछि आफूहरु आन्दोलित भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष अंकित खतिवडाले बताए । उनीहरुले गतवर्षकै नियमअनुसार छात्रवृति वितरण हुनुपर्नेमा पूर्वजानकारी बिनै प्रवेश परीक्षामा कम योग्यता भएका विद्यार्थीहरुलाई छात्रवृति छनौट गरेको भन्दै अनिश्चतकालिन तालाबन्दी गरेको खतिवडाले जानकारी दिए ।

‘हाम्रा माग पूरा नभएको खण्डमा थप संघर्षका कार्यक्रमहरु सशक्त रुपमा अघि बढाउनछौं ।’, विद्यार्थीहरुले भने,‘विश्वविद्यालयले गल्ती स्वीकारेको र आफूहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गरिसकेको छ । तर, हामी पुनः नियमाअनुसार छात्रबृत्ति वितरण नभएसम्म तालाबन्दी नखोल्ने र आन्दोलन जारी राख्ने पक्षमा छौं ।’ उनीहरुले विश्वविद्यालयसहित डीन कार्यालय, आर्थिक शाखा र प्रशासन शाखासमेत तालाबन्दी गरेका छन् ।

अनेरास्ववियु कृषि तथा वन विज्ञान संकायका कार्यवाहक अध्यक्ष अंकित खतिवडा, अनेरास्ववियु क्रान्तिकारी कार्यवाहक अध्यक्ष दिपेन्द्र कोईराला र अनेरास्ववियु क्याम्पस कमिटी कटारी अध्यक्ष युवराज भण्डारीले विश्वविद्यालयले निर्धारर्ण गरेको मेरिट कोटा पूर्णरुपमा मेरिटकै रुपमा कायम गर्न माग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*