हेटौंडामा गोली प्रहार गरेर तीन जना गाँजा तस्कर पक्राउ

बाइलाइन नेपाल
१५ माघ २०७६, बुधबार १०:४१

मकवानपुर प्रहरीले गोली प्रहार गरी तीन जना गाँजा तस्करलाई पक्राउ गरेको छ । बुधबार बिहान १ बजेतिर हेटौंडा–११, थानाभर्‍याङमा गाँजा तस्करी गरिरहेको भारतीय नम्बर प्लेटको बीआर ०६ जी ४४५७ नम्बरको कारको टायरमा गोली प्रहार गरी प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायरसमेत गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार पक्राउ परेकाहरुमा एक महिला र दुई पुरुष रहेका छन्। ‘भारतीय गाडीमा एक महिलालाई बिरामी बनाएर राखिएको र एकजना बिरामी कुरुवा बनेर लागूऔषध तस्कर भइरहेको रहेछ। हामीले ड्राइभरलाई पनि नियन्त्रणमा लिएका छौं,’ प्रहरी उपरीक्षक राठौरले भने।

पक्राउ पर्नेमा भारत मुजफ्फरपुरका अजयमल सवारी, सञ्जीव पासवान र जाहेरा खातुन रहेका छन्। त्यस कारबाट करिब ३० केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मकवानपुरको मनहरी क्षेत्रबाट लागूऔषध लिएर आइरहेको सवारीलाई हेटौंडा–१९ का इलाका प्रहरी कार्यालय नेवारपानी र लेवट प्रहरीले नियन्त्रणमा लिन नसकेपछि वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले थानाभर्‍याङमा नियन्त्रणमा लिन खोज्दा भागेको थियो। प्रहरीलाई देखेपछि भाग्न खोजेपछि गोली चलाएर नियन्त्रणमा लिएको हो। इकान्तिपुरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*