वाग्मती प्रदेशमा सुत्केरी पत्रकारलाई लेखनवृत्ति, ज्येष्ठलाई पेन्सन

बाइलाइन नेपाल
१५ माघ २०७६, बुधबार १०:१२

वाग्मती प्रदेशस्थित सञ्चार रजिस्ट्रार कार्यालय हेटौंडाले महिला पत्रकारलाई प्रसूति भएको एक वर्ष अवधिभर आत्मनिर्भरता र सिर्जनात्मकता प्रवर्द्धन गर्न लेखन तथा प्रसारणवृत्ति प्रदान गर्ने भएको छ ।

प्रसूति भएको एक वर्षसम्म पत्रकारिता क्षेत्रमै क्रियाशील बनाइराख्न र आमा तथा नवजात शिशुलाई केही सहयोग पुर्‍याउने उद्देश्यले लेखन तथा प्रसारवृत्ति प्रदान गर्न लागेको हो । ‘उक्त अवधिमा महिला पत्रकारलाई बढीमा चार वटासम्म विषयगत लेखन एवं प्रसारण गर्ने अवसर प्रदान गर्ने छौं,’ सञ्चार रजिस्ट्रार रेवती सापकोटाले भने । एउटा लेखन तथा प्रसारण वृत्तिबापत् २० हजार रुपैयाँसम्म उपलब्ध गराउन सकिने सञ्चार रजिस्ट्रार कार्यालयले कार्यविधि बनाएको छ ।

प्रदेशभित्र सञ्चालित टेलिभिजन, एफएम रेडियो र दैनिक पत्रिकामा कम्तीमा ७५ प्रतिशत रोजगारी महिला, दलित र शारीरिक रूपमा अशक्त पत्रकारलाई उपलब्ध गराउने सञ्चारमाध्यमलाई वार्षिक ५० हजार रुपैयाँ अनुदानस्वरूप उपलब्ध गराउने व्यवस्था गरेको छ । यस किसिमको अनुदान सहयोग प्राप्त गर्न त्यस्तो प्रकाशन वा प्रसारण संस्थाले कार्यालयमा अभिलेखीकरण गराएको प्रमाण राखेर कार्यरत महिला, दलित, आदिवासी जनजाति र शारीरिक अशक्त पत्रकारहरूको विवरणसहित निवेदन दिनुपर्ने व्यवस्था गरेको छ । यो अनुदान रकम क्रमशः बढाएर लैजानेसमेत जनाएको छ ।

सञ्चार रजिस्ट्रार कार्यालयले ३० वर्ष पत्रकारिता गरेका र ६० वर्ष उमेर पुगेका पत्रकारलाई ज्येष्ठ पत्रकार पेन्सनको व्यवस्था गरेको छ । प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्थाबमोजिम सञ्चार रजिस्ट्रारको कार्यालय वाग्मती प्रदेशले तयार गरेको कार्यविधिअनुसार ज्येष्ठ पत्रकार पेन्सन मासिक रूपमा ३ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था रहेको सञ्चार रजिस्ट्रार सापकोटाले बताए । ज्येष्ठ पत्रकारलाई पेन्सन दिने व्यवस्था भारतको तेलंगना प्रान्तमा पनि रहेको छ । संघीय सरकारको मन्त्रिपरिषद्ले पनि २०७५ चैतमा ज्येष्ठ पत्रकारलाई पेन्सन दिने निर्णय गरेको थियो तर उक्त निर्णय भने अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

राज्यबाट उपलब्ध हुने अन्य कुनै सामाजिक सुरक्षा भत्ता वा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट आर्थिक सुविधा प्राप्त हुने सार्वजनिक पदमा बहाल रहने ज्येष्ठ पत्रकारले मासिक वृत्ति नपाउने व्यवस्थासमेत कार्यविधिमा गरिएको छ । राज्य कोषबाट दोहोरो सुविधा नपाऊन् भनेर उक्त कार्यविधि बनाएको रजिस्ट्रार कार्यालयले जनाएको छ ।

प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐनको दफा ५३ बमोजिम पत्रकार वृत्ति कोष, दफा ५३ (३) बमोजिमको महिला पत्रकार लक्षित कोष र ऐनको दफा ५४ बमोजिमको कोषलाई एकीकृत रूपमा पत्रकार कल्याण कोष स्थापना गरिएको छ । उक्त कोषका लागि सञ्चार रजिस्ट्रारको कार्यालयले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सञ्चार रजिस्ट्रारको कार्यालयबाट परिचयपत्र प्राप्त गर्ने प्रत्येक पत्रकारले एक सय रुपैयाँ कोषका लागि योगदान गर्दै आएका छन् । यो कोषमा सरकार, सञ्चारमाध्यम र पत्रकारहरूको योगदान रहनेछ । कोषमा रहने रकमको ब्याजबाट पत्रकारको कल्याणकारी काम गर्ने योजना छ । कोषको रकम बढाउन प्रदेश सरकारले छिट्टै नै रकम विनियोजित गर्ने आश्वासन दिएको रजिस्ट्रार कार्यालयले जनाएको छ ।

उक्त कोषबाट पत्रकारिताको सिलसिलामा दुर्घटनामा परेका पत्रकारलाई क्षतिको मूल्यांकनका आधारमा बढीमा ३० हजार रुपैयाँसम्म सहयोग दिन सकिने गरी कार्यविधिको मस्यौदा तयार गरिएको छ । सोही दुर्घटनाको कारणले उपचारको निम्ति अस्पतालमा भर्ना भएको कम्तीमा १२ घण्टापछि मृत्यु भएमा थप ४० हजार रुपैयाँ निजको एकाघरको सदस्यलाई प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । दुर्घटनामा परी पत्रकारको घटनास्थलमै मृत्यु भएमा ५० हजार रुपैयाँ आर्थिक सहायता निजको एकाघरको सदस्यलाई उपलब्ध गराइने व्यवस्था गरिएको छ । दुर्घटनामा परेको पत्रकारले ३० दिनभित्र रजिस्टर्ड मेडिकल चिकित्सकको प्रेसक्रिप्सनसहित बिल भर्पाइ, सवारी दुर्घटनाको हकमा प्रहरी प्रतिवेदन पेस गर्नुपर्नेछ ।

मृगौला, क्यान्सरजस्ता घातक रोग लागेका पत्रकारलाई औषधि उपचार गर्न ७५ हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्न सकिने कार्यविधिको मस्यौदा तयार गरिएको छ । सोही रोगका कारण मृत्यु भएमा निजको एकाघरको परिवारलाई २५ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउन व्यवस्था गरिएको छ । कान्तिपुर दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*