आज राष्ट्रपति भण्डारी हेटौंडा आउने

बाइलाइन नेपाल
१४ माघ २०७६, मंगलवार ०७:२५

हेटौंडा । आज मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी बाग्मती प्रदेशको राजधानी हेटौंडा आउने कार्यक्रम रहेको छ । राष्ट्रपति आउने भएपछि राजधानी हेटौंडाको सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रपतिको हेटौंडा आउने कार्यक्रम तय भएसँगै सुरक्षा चुस्त पार्न खटेको तीनवटै सुरक्षा निकायले आजबाट झन निगरानी बढाएको छ ।

हेटौंडामा रहेको पर्यटकिय स्थल सहिद स्मारकमा निर्माण गरिएको प्रजातान्त्रिक पार्कको उद्घाटन गर्न राष्ट्रपति भण्डारी हेटौंडा आउने कार्यक्रम रहेको छ । सेना, जनपद प्रहरी र शसस्त्र प्रहरीले हेटौंडासहित आसपासमा सुरक्षा निगरानी बढाएका हुन् । राष्ट्रपतिको कार्यक्रम रहेको स्थल सहिद स्मारकमा नेपाली सेनाको विशेष टोलीले सुरक्षा दिइरहेको छ । बाहिरी घेरामा जनपद र शसस्त्र प्रहरी परिचालन गरिएको छ ।

सुरक्षालाई चुस्त राख्नका लागि आजैबाट नेपाली सेनाको टोलीले स्मारमा निगरानी गरिरहेको छ । कुकुरसहितको टोलीले स्मारक र आसपासका क्षेत्रमा सुरक्षा दिइरहेका छन् ।

सुरक्षा व्यवस्था चुस्त राख्नका लागि हेटौंडाका विभिन्न नाकामा सुरक्षा चेकिङ भइरहेका छन् । हेलिकप्टर मार्फत् आउने राष्ट्रपति भण्डारी बाग्मती प्रदेश प्रहरी कार्यालय थानाभ¥यामा अवतरण भएर स्मारक जाने कार्यक्रम रहेको सुरक्षा स्रोतले जनाएको छ । राष्ट्रपतिको भ्रमण सफल पार्न बाग्मती प्रदेश सरकार, मध्यपृतना, प्रदेश प्रहरी कार्यालयलगायतका सुरक्षा निकाय ध्यान दिएर लागिपरेका छन् ।

विभिन्न कालखण्डका सहिदको प्रतिमा राखिएको हेटौँडा उपमहानगरपालिका–११ स्थित पर्यटकीयस्थल सहिद स्मारकमा रहेको प्रजातान्त्रिक पार्क उद्घाटनका लागि दिउँसो १२ बजे राष्ट्रपति भण्डारी हेटौंडा आउने जनाइएको छ ।

स्मारकमा रहेको प्रजातान्त्रिक पार्कमा प्रजातान्त्रिक आन्दोलनका चारजना अगुवाहरुको प्रतिमा निर्माण गरिएको छ । पार्कमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नेपाली काँग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रतिमा निर्माण गरिएको छ । पार्कको उद्घाटनसँगै राष्ट्रपति भण्डारीले प्रतिमा अनावरण गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रदेश सरकारले मनाइरहेको सहिद सप्ताह अन्र्तगत माघ १४ गते पार्क उद्घाटन र प्रतिमा अनावरण गर्ने कार्यक्रम रहेको सहिद स्मारक विकास समितिका अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए । सहिद सप्ताहको सातौं कार्यक्रम अन्र्तगत प्रजातान्त्रिक पार्कमा निर्माण गरिएको प्रतिमाको अनावारण गर्न राष्ट्रपति भण्डारी हेटौंडा आउन लागेको उनले जानकारी दिए ।

सहिद स्मारक विकास समितिले करिब डेढ करोड रुपैयाँ खर्चेर शालिक निर्माण गरको समितिका कार्यालय सचिव रामचन्द्र न्यौपानेले बताए । यसअघि सहिद स्मारकमा विभिन्न कालखण्डका सम्पूर्ण सहिदलाई एकै थलोमा स्मरण गर्न सहिद स्मृति स्तम्भ निर्माण गरिएको थियो । जसमा ६५ फिट अग्लो स्तम्भ निर्माण गरिएको छ । यो स्तम्भको पनि राष्ट्रपति भण्डारीले अनावरण गरेकी थिइन् ।

स्तम्भ करिब एक करोढ ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको समितिले जनाएको छ । साथै स्मारकमा विभिन्न कालखण्डमा सहिद भएका १२ जनाको एउटै ढुङ्गामो मुखाकृत कुदिएको छ । स्मारकमा यसअघि नै मदन भण्डारीको प्रतिमा निर्माण भइसकेको छ ।

२०४६ सालको जनआन्दोलन पश्चात २०४७ साल श्रावण ७ गते उजाड डाँडोमा वृक्षारोपण गरी सहिद स्मृति बाटिका नामाकरण गरिएको थियो । २०५२ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गरेको सहिद स्मारक देशकै नमुना सहिद केन्द्र बन्न पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*