सहिद स्मारकमा निर्माण भएको बीपी, गणेशमान, पुष्पलाल र मनमोहनको प्रतिमा अनावरण हुने

बाइलाइन नेपाल
१२ माघ २०७६, आईतवार १६:४५

हेटौंडा । बाग्मती प्रदेशको राजधानी हेटौंडामा रहेको पर्यटकिय स्थल सहिद स्मारकमा प्रजातान्त्रिक आन्दोलनका अगुवाहरुको प्रतिमा निर्माण गरिएको छ । विभिन्न कालखण्डका सहिदको प्रतिमा राखिएको हेटौँडा उपमहानगरपालिका–११ स्थित पर्यटकीयस्थल सहिद स्मारकमा रहेको प्रजातान्त्रिक पार्कमा निर्माण गरिएका प्रतिमाहरुको यही माघ १४ गते अनावरण गरिने भएको छ ।

स्मारमा रहेको प्रजातान्त्रिक पार्कमा प्रजातान्त्रिक आन्दोलनका चारजना अगुवा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नेपाली काँग्रेसका संस्थापक नेता तथा पहिलो जन निर्वाचित प्रधानमन्त्री बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रतिमा निर्माण गरिएको छ ।

सहिद सप्ताह अन्र्तगत माघ १४ गते प्रतिमा अनावरण गर्ने कार्यक्रम रहेको सहिद स्मारक विकास समितिका अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए । सहिद सप्ताहको सातौं कार्यक्रम अन्र्तगत प्रजातान्त्रिक पार्कमा निर्माण गरिएको प्रतिमाको अनावारण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको उनले बताए ।

सहिद स्मारक विकास समितिले करिब डेढ करोड रुपैयाँ खर्चेर शालिक निर्माण गरको जनाएको छ । चारैजना प्रजातान्त्रिक आन्दोलनका अगुवाहरुको शालिक निर्माण भइसकेको समितिका कार्यालय सचिव रामचन्द्र न्यौपानेले बताए ।

नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसका शीर्ष नेताहरुबाटै शालिक अनावरण कार्यक्रम सम्पन्न हुने गरी केही समयभित्रै प्रजातान्त्रिक पार्क उद्घाटन गरिने उनले बताए ।

यसअघि सहिद स्मारकमा विभिन्न कालखण्डका सम्पूर्ण सहिदलाई एकै थलोमा स्मरण गर्न सहिद स्मृति स्तम्भ निर्माण गरिएको थियो । जसमा ६५ फिट अग्लो स्तम्भ निर्माण गरिएको छ । यो स्तम्भको पनि राष्ट्रपति भण्डारीले अनावरण गेकी थिइन् ।

स्तम्भ करिब एक करोढ ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको समितिले जनाएको छ । साथै स्मारकमा विभिन्न राष्ट्रभक्तिपूर्ण युद्ध र विभिन्न जनसङ्घर्षमा सहिद भएका १२ सहिदको एउटै ढुङ्गामा सहिदको मुखाकृत कुदिएको छ ।

२०४६ सालको जनआन्दोलन पश्चात २०४७ साल श्रावण ७ गते उजाड डाँडोमा वृक्षारोपण गरी सहिद स्मृति बाटिका नामाकरण गरिएको थियो । २०५२ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गरेको सहिद स्मारक देशकै नमुना सहिद केन्द्र बन्न पुगेको छ ।

यहाँ वार्षिक पाँच लाख बढि आन्तरिक र बाह्य पर्यटक आउने गरेको समितिका सचिव न्यौपानेले बताए । स्मारकमा यसअघि नै मदन भण्डारीको प्रतिमा निर्माण भइसहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*