मकवानपुरको बकैयामा खोला खन्ने कांग्रेस सांसद बहादुरसिंह लामा विरुद्ध मुद्दा दर्ता

बाइलाइन नेपाल
१० माघ २०७६, शुक्रबार ०८:५८

सामुदायिक वन क्षेत्रभित्र नदीजन्य पदार्थ अवैध उत्खनन गरेको अभियोगमा प्रतिनिधिसभा सदस्यसहित चारविरुद्ध जिल्ला अदालत मकवानपुरमा मुद्दा दर्ता भएको छ । मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका–७ मा रहेको कालिवन सामुदायिक वनभित्र नदीजन्य पदार्थ उत्खनन गरेको आधारमा डिभिजन वन कार्यालय हेटौँडाले कांग्रेस सांसद बहादुरसिंह लामा तामाङसहित चारजनाविरुद्ध फौजदारी अभियोगअन्तर्गत बिहीबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

जिल्ला अदालत मकवानपुरका तहसिलदार तुलसी लामिछानेले राष्ट्रिय वन क्षेत्रमा अवैध रूपमा स्काभेटर प्रयोग गरी उत्खनन कार्य गरेको अभियोगमा तामाङसहित कन्स्ट्रक्सन सञ्चालकद्वय निर्मलप्रसाद सिटौला र शिवहरि घिमिरे तथा फिल्ड साइड अफिस कर्मचारी सुवास डंगोलविरुद्ध मुद्दा दर्ता गरेको जानकारी दिए । सांसद तामाङ सञ्चालक÷अध्यक्ष रहेको हिम्डुङ एन्ड थोकर कन्स्ट्रक्सन प्रालिको स्काभेटरले गत १३ पुसमा कालिवनभित्र अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थमा डिभिजन वनका सुबेदार यादविन्द्र पौडेलको नेतृत्वमा खटिएको वनरक्षकको टोलीले सर्लाही ईश्वरपुर नगरपालिका–५ निवासी चालक नरेशराम महरालाई पक्राउ गरेको थियो । महरा पक्राउ परेलगत्तै कालिवन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरिलाल स्याङ्तान फरार थिए ।

राष्ट्रिय वनअन्तर्गत गर्ने सामुदायिक वन क्षेत्रभित्र अवैध उत्खनन भइरहेको जानकारी पाएपछि अनुगमन सुरु गरिएको डिभिजन वनप्रमुख इमनाथ पौडेलले बताए । उनले अनुगमन गर्ने क्रममा १३ पुसमा स्काभेटर प्रयोग गरेर अवैध उत्खनन गरिरहेको अवस्थामा रंगेहात पक्राउ परेको जानकारी दिए । ‘हामीले अनुसन्धान गर्दा वन समूहका अध्यक्ष हरिलाल स्याङ्तानको मिलेमतो देखिएपछि उनीलाई पनि पक्राउ गरिएको हो,’ उनले भने । कन्स्ट्रक्सनले वन क्षेत्रभित्र नौ हजार पाँच सय ६४ क्युफिट ढुंगा, गिटी, बालुवा र माटो अवैध उत्खनन गरी चोरी गरेको डिभिजन वन कार्यालयको दाबी छ । बिगोबापत एक लाख ६४ हजार एक सय १२ रुपैयाँ जरिवाना र वन ऐन, २०७६ को दफा ५० को उपदफा ३ बमोजिम साढे पाँच वर्ष कैद सजाय माग गरिएको डिभिजन वनका सहायक वन अधिकृत वसन्तराज गौतमले बताए ।

पक्राउ पुर्जी जारी
सामुदायिक वनभित्र नदीजन्य पदार्थको अवैध उत्खनन गरेको अभियोगमा तामाङसहित चारविरुद्ध डिभिजन वन कार्यालय मकवानपुरले पक्राउ पुर्जी जारी गरेको छ । बिहीबार अदालतमा मुद्दा दर्तापछि अनुमति लिएर पक्राउ पुर्जी जारी गरेको हो । हिम्डुङ एन्ड थोकर कम्पनीका प्रतिनिधिलाई १५ पुसमा वन कार्यालयले सम्पर्कमा आउन पत्र लेखेको थियो ।

तर, जिल्ला अदालतबाट दोस्रोपटक म्याद थप हुँदासमेत कम्पनीका कुनै व्यक्ति सम्पर्कमा नआएपछि अदालतको अनुमतिमा २८ पुसमै चारजनाविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजीकार्य भइरहेको डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेलले बताए ।

स्काभेटर छाड्न सेनाको दबाब

गत १३ पुसमा डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको स्काभेटर छाड्न सेनाले दबाब दिएको थियो । डिभिजन वनले वन क्षेत्रबाट स्काभेटरसहित चालक पक्राउ गरेपछि बाराको बागदेव गुल्मका मेजर पूर्णचन्द्र ढकालले दबाब दिएको डिभिजन वन कार्यालय प्रमुख इमनाथ पौडेलले बताए । ढकालले सिभिल डे«समा नेपाली सेना पठाएर स्काभेटर ल्याउने क्रममा अवरोध खडा गरेको पौडेलले दाबी गरे । त्यसवेला करिब आधा घन्टा वनको टोली र सेनाबीच भनाभन भएको जानकारी दिँदै उनले मेजर ढकालले फोनमार्फत स्काभेटर छोड्न दबाब दिएको बताए । हतियारसहित गएको वनको टोलीले कुनै हालतमा स्काभेटर नछाड्ने अडान लिएपछि सेनाको टोली फर्किएको प्रमुख पौडेलको भनाइ छ । ‘स्काभेटर ल्याउने क्रममा बागदेव गुल्मका नेपाली सेना आएर अवरोध गरे । मेजर ढकालले दबाब दिए, मसँग सबै प्रमाण छ,’ प्रमुख पौडेलले भने, ‘बकैयास्थित राजदमार गुल्मले हामीलाई साथ दिए पनि बाराको बागदेव गुल्मले हामीसँग लफडा गरेर अवरोध खडा गरेको हो ।’ नयाँ पत्रिका दैनिकमा सुदीप शिवाकोटीले लेखेको समाचार साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*