हेटौंडा बजार १६–१६ मिटर मात्र भत्कनेमा अझै शंका, यस्तो छ कारण

बाइलाइन नेपाल
९ माघ २०७६, बिहीबार २०:३८
फाइल तस्वीर

हेटौंडा । हेटौंडाको बजार क्षेत्रबाट राजमार्ग हटाएर १६–१६ मिटर मात्र भत्काउनेमा घरधनी र व्यवसायी अझै विश्वस्त हुन सकेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बाग्मती प्रदेशका मुख्यमन्त्रीसहित संघीय र प्रदेशका सांसदले भेटेपछि बजार क्षेत्र १६–१६ मिटर भत्काउने समाचार आएका थिए ।

बजार क्षेत्रका घरधनी र व्यवसायीले प्रधानमन्त्रीसँग मौखिक कुरा भएको र बजारबाहिर बाट ५० मिटरको राजमार्ग कायम नभएसम्म ढुक्क हुन नसकिने प्रतिक्रिया दिएका छन् । अर्को राजमार्ग कायम नभएसम्म बजार क्षेत्र २५–२५ मिटर भत्कने त्रासबाट मुक्ती नमिलने उनिहरुको भनाइ छ ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले पनि अहिले नै ढुक्क हुने अवस्था नभएको बताए । अहिले मौखिक कुरा भएकाले अझै स्पष्ट कुरा नआएको उनले उल्लेख गरे । ‘बजार क्षेत्रका घरधनी १६–१६ मिटर दिन तयार छन् । बजार व्यवस्थित बनाउन तयार छन् । तर अहिले प्रधानमन्त्रीसँग भएकै कुराबाट भने ढुक्क भएर बस्ने अवस्था भइसकेको छैन,’–उनले भने ।

सहर बाहिरबाट राजमार्ग कायम गरेर मन्त्रीपरिषद्बाट निर्णय भएपछि मात्र हेटौंडामा २५–२५ मिटर भत्काउने समस्याको समाधान हुने उनले बताए । यसको लिखित रुपमा कानुनी प्रक्रियामा काम नभएसम्म घरधनीमा त्रास कायमै रहने केन्द्रीय सदस्य न्यौपानेको भनाइ छ ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले मौखिक रुपमा मात्र कुरा भएको १६–१६ मिटर कायम गर्ने कुनै लिखित नभएको बताए । प्रधानमन्त्रीसँगको छलफलमा सहभागी भएका कटुवालले मौखिक छलफल भएपनि कुरा सकारात्मक रहेको उल्लेख गरे ।

मौखिक कुरामा भएका काम सुरु गरेपनि पुरा हुन चार, पाँच महिना लाग्ने बताउँदै अध्यक्ष कटुवालले बजार बाहिरबाट अर्को राजमार्ग कायम गरेर क्याबिनेटबाट निर्णय नगरेसम्म के हुन्छ भन्न नसकिने बताए ।

बसोबास संरक्षण समितिका संयोजक समेत रहेका कटुवालले अहिले भएका कुरा स्वागतयोग्य रहेको र यही अनुसार काम अगाडि बढेमा बजार क्षेत्रमा १६–१६ मिटर मात्र भत्कने उल्लेख गरे । यसको लागि अब कसरी काम हुन्छ भन्ने पर्खनुको विकल्प नभएको उनको प्रतिक्रिया छ । उनले प्रधानमन्त्रीसँग भएको छलफल अनुसार नै काम हुने संघ आशावादी रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*