यस्तो छ कारण दामनको रिर्सोटमा आठ भारतीय मर्नुको

बाइलाइन नेपाल
९ माघ २०७६, बिहीबार ०८:१७

मकवानपुरको दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु कार्बन मोनोअक्साइड ग्यासको विषाक्तताले भएको प्रमाणित भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको फरेन्सिक मेडिसिन विभागले आठै जनाको शव परीक्षण (अटोप्सी) बाट मृत्युको कारण पहिचान गरिएको हो ।

‘मृतकको शरीरमा प्रतिरोध आदि कुनै चिनो थिएन, उनीहरूको पेनलेस डेथ (दुखाइरहित मृत्यु) भएको हो,’ विभागका डा. गोपालकुमार चौधरीले भने । यो ग्यास तेल, कोइला, दाउरालगायत इन्धन पूर्ण रूपमा नडढ्दा उत्पन्न हुन्छ ।

कोठा वा बन्द ठाउँमा अक्सिजन अभाव भएको समय कुनै वस्तुलाई डढाउँदा यो ग्यास बढी मात्रामा निस्किन्छ । बन्द कोठामा कुनै पनि प्रक्रियाद्वारा उत्पन्न हुने यो ग्यास स्वासप्रश्वासका माध्यमले फोक्सोमा पुगी रगतको हेमोग्लोबिनसँग मिसिन्छ र रगतमा अक्सिजनको मात्रा कम हुन्छ । अक्सिजन अभाव भएपछि शरीरका कोषहरू मर्न थाल्छन्, यसले सबै अंग प्रभावित हुन्छन् ।

फरेन्सिक मेडिसिन विभागका अनुसार यस वर्ष यो ग्यासको विषाक्तताले मृत्यु भएको प्रमाणित भएका २२ जना पुगिसकेका छन् । गत वर्ष १७ जनाको मृत्यु भएको थियो ।

विभागले छानबिन गर्ने
आठ भारतीय पर्यटकको मृत्युका सम्बन्धमा पर्यटन विभागले छानबिन गर्ने भएको छ ।

पर्यटकको सुरक्षामा रिसोर्टका तर्फबाट कमीकमजोरी भएको हो, होइन लगायत विषयमा छानबिन हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए । ‘यो घटना गम्भीर छ,’ भट्टराईले कान्तिपुरसित भने, ‘एउटै कोठामा आठ जना किन सुताइयो, कसको कमीकमजोरी भएको हो, हेरिन्छ ।’ छानबिन समितिले स्थलगत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ ।

छानबिन समितिको संयोजक विभागको होटल शाखाका निर्देशक सुरेन्द्र थापालाई तोकिएको छ । यसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, होटल संघ नेपाल र पर्यटक प्रहरी प्रमुख (निरीक्षक) र होटल विभागकै शाखा अधिकृत तिलक रिजाल सदस्य छन् । यसैबीच आठै जनाको शव बुधबार एयर इन्डियाको जहाजबाट दिल्ली लगिएको छ । इकान्तिपुर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*