वृद्धि गरेको शुल्कलाई ४० प्रतिशत कायम गर्न सञ्चालक समितिको प्रस्ताव, विद्यार्थी संगठनले टेरेनन्

बाइलाइन नेपाल
९ माघ २०७६, बिहीबार ०७:५५

हेटौंडा । शुल्क वृद्धिको विरोधमा मकवानपुर बहुमुखी क्याम्पसमा स्ववियुसहित विद्यार्थी संगठनले रिले अनशन थालेको आज १७ दिन पुगेको छ । सञ्चालक समितिको वार्ता टोली र आन्दोलनरत विद्यार्थी संगठनबीच पटकपटक वार्ता पनि भए तर समस्याको समाधान हुन सकेको छैन ।

पुस २० गते बसेको क्याम्पस सञ्चालक समितिको बैठकले शुल्कमा ६५ प्रतिशत वृद्धि र भर्नामा शतप्रतिशत वृद्धिको निर्णय गरेपछि क्याम्पसमा आन्दोलन जारी छ । यसैबीच समितिले विद्यार्थी संगठनलाई ६५ प्रतिशतलाई ४० प्रतिशत कायम गर्न प्रस्ताव गरेको छ ।

क्याम्पसमा रहेका सबै विद्यार्थी संगठनबीच भएको वार्तामा ४० प्रतिशत कायम गर्न प्रस्ताव गरेको हो । ४० प्रतिशत नै समितिको बटमलाइन भएको समितिका अध्यक्ष अन्नत पौडेलले बताएका छन् । उनले बटमलाइनबाट अब दायाँबायाँ गरेर सहमति नहुने जानकारी दिए । वृद्धि गरेकोबाट समिति २५ प्रतिशत तल आएर लचिलो भएकाले अब सहमति हुने पौडेलको दाबी छ ।

सञ्चालक समितिले वृद्धि गरेको शुल्कबाट २५ प्रतिशत कम गर्दा पनि विद्यार्थी संगठनहरुले भने मानेका छैनन् । उनिहरुले शुल्क खारेजी नभइ सहमति नहुने बताएका छन् । समितिले हाम्रो मागलाई कार्यान्वयन नगरे थप आन्दोलनमा उत्रने उनिहरुको चेतावनी छ ।

स्ववियु सभापति कुमार केसीले अनावश्यक खर्च कटौती र अनियमिततालाई रोक्ने तथा कारबाही गर्नुको सट्टा शुल्क वृद्धि गर्नु जायज नभएको बताए । उनले खारेज नगरेसम्म आन्दोलन जारी रहने जानकारी दिए ।

यस्तै अनेरस्ववियुका रामकृष्ण शिवाकोटीले शुल्क खारेज नै विद्यार्थी संगठनको अन्तिम बटमलाइन भएको उल्लेख गरे । उनले शुल्क खारेज नगरे थप आन्दोलनका कार्यक्रम ल्याउने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*