हेटौंडा बजार क्षेत्र अब १६–१६ मिटर मात्र भत्कने पक्का, ५० मिटरको राजमार्ग सहर बाहिरबाट

ध्रुव अधिकारी
८ माघ २०७६, बुधबार २०:४२

हेटैंडा । वर्षैदेखि समस्याको रुपमा रहेको हेटौंडा बजार क्षेत्रको २५–२५ मिटर सडक विस्तार गर्ने विवाद अब प्रक्रियागत रुपमै हट्ने भएको छ । प्रधानमन्त्री केपी ओलीले नै हेटौंडा बजार क्षेत्रको सडक विस्तार समस्या समाधानका लागि चासो देखाएपछि यसले निकास पाउने भएको छ ।

अब हेटौंडाको बजार क्षेत्रमा दायाँबायाँ १६–१६ (३२ मिटर) मिटर मात्र सडक विस्तार हुने भएको छ । बजार क्षेत्रबाट अहिले कायम रहेको ५० मिटरको सडक अन्यत्र स्थानबाट निर्माण गरिने भएको छ ।

बुधबार वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित गएका मकवानपुरका जनप्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री केपी ओलीले बजार क्षेत्रमा ३२ मिटर सडक विस्तार गर्न प्रदेश सरकारले ५० मिटरको राजमार्ग निर्माणका लागि जग्गाको व्यवस्थापन गर्नुपर्ने बताएका थिए ।

प्रदेश सरकारले जग्गाको व्यवस्थापन गर्ने मुख्यमन्त्री पौडेलले बताएपछि प्रधानमन्त्री ओलीले केही दिनमै प्रक्रियागत रुपमा यो विषयलाई लैजान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशनसँगै अब केही दिनमा हेटौंडा बजार क्षेत्र बाहिरबाट ५० मिटरको राजमार्ग निर्माणका लागि जग्गा प्राप्तीलगायतका प्रक्रिया अगाडि बढ्ने मकवानपुर क्षेत्र नं. १ का सांसद तथा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार अब हेटौंडाले दुई वटा राजमार्ग पाउने भएको छ । एउटा अहिले रहेको बजार क्षेत्रमा ३२ मिटरको र अर्को बजारक्षेत्र भन्दा बाहिरबाट ५० मिटरको राजमार्ग बन्ने पक्का भएको उनले जानकारी दिए । अहिले हेटौंडामा रहेको सडक विस्तारमा प्रधानमनत्री आफैले चासो दिएर समाधानको बाटो खोजिएको दाहालले बताए ।

प्रदेश सरकारले ५० मिटरको सडक बनाउने जग्गा उपलब्ध गराएपछि प्रधानमन्त्रीले त्यसलाई क्याबिनेटबाट निर्णय गराएर राजमार्ग कायम गराउने आश्वासन दिएको दाहालले जानकारी दिए । प्रधानमन्त्रीसँगको छलफलले बजार क्षेत्रको २५–२५ मिटर सडक विस्तारको विवादलाई समाधान गरेको उनको दाबी छ ।

प्रधानमन्त्रीसँग सडक विस्तारको विषयमा छलफल गर्न मुख्यमन्त्री पौडेलसँगै सांसद कृष्णप्रसाद दाहाल, विरोध खतिवडा, रामचन्द्र राई, प्रदेशसभा सदस्य मुनु सिग्देल, कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, संविधानसभाका पूर्व सदस्य अन्नत पौडेल, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाललगाउतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*