समितिको बटमलाइन मान्दैनौ, शुल्क खारेज नभइ सहमति हुँदैनः विद्यार्थी संगठन

बाइलाइन नेपाल
८ माघ २०७६, बुधबार २०:००

हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिले दिएको बटमलाइन नमान्ने आन्दोलनरत् विद्यार्थी संगठनले प्रतिक्रिया दिएका छन् ।

शुल्क वृद्धि फिर्ताको माग गर्दै क्याम्पसमा पुस २२ गते देखि स्ववियु, अनेरास्ववियू र अनेरास्ववियु क्रान्तिकारीले रिले अनशन गरिरहेका छन् । उनिहरुले वृद्धि गरेको शुल्क घटाउने होइन खारेज नगरेसम्म आन्दोलन कायम रहने बताएका छन् ।

स्ववियु सभापति कुमार केसीले वृद्धि गरेको शुल्क घटाउने विषयमा कुनै सहमति नहुने बताए । उनले खारेज नगरेसम्म आन्दोलन जारी रहने जानकारी दिए । खर्च कटौती गर्ने ठाउँको खोजी गर्नुको सट्टा विद्यार्थी माथि भार थोपर्ने काम गरेकाले मान्य नहुने उल्लेख गरे ।

यसैगरी अनेरास्ववियुका रामकृष्ण शिवकोटीले पनि शुल्क खारेज नभएसम्म सहमति हुन नसक्ने बताए । शुल्क खारेज नगरे माघ १० गतेबाट कडा आन्दोलन थाल्ने उनले चेतावनी दिए । क्याम्पस घाटामा गएको नाममा विद्यार्थी माथि शुल्क वृद्धि गर्नु आपत्तीजनक भएको उनले उल्लेख गरे । वृद्धि गरेका शुल्क खारेज बाहेक अन्य विकल्प अहिले नभएको उनको भनाइ छ ।

क्याम्पस सञ्चालक समितिको पुस २० गतेको बैठकले मासिक शुल्कमा ६५ प्रतिशत शुल्क वृद्धि र प्रत्येक वर्ष शुल्कमा ५ प्रतिशत स्वतः वृद्धि हुने निर्णय गरेको थियो । यस्तै बैठकले क्याम्पस प्रवेश शुल्कमा सतप्रतिशत वृद्धि गरेको थियो ।

शुल्क वृद्धिको विरोध गर्दै पुस २२ गते देखि स्ववियु, अनेरास्ववियू र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रुपमा रिले अनशन सुरु गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*