मकवानपुर क्याम्पसको विद्यार्थी आन्दोलनमा नगारिक समाजको चासो, १६ दिनसम्म समाधान नखोज्नु दुःखद्

बाइलाइन नेपाल
८ माघ २०७६, बुधबार १८:०५

हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पसमा १६ दिन देखि विद्यार्थी संगठन आन्दोलनमा छन् । तर क्याम्पस सञ्चालक समिति र प्रशासनले १६ दिन सम्म समस्याको समाधान गर्न नसकेपछि यसको सर्वत्र चर्चा र आलोचना सुरु भएको छ ।

क्याम्पस सञ्चालक समितिको पुस २० गतेको बैठकले मासिक शुल्कमा ६५ प्रतिशत शुल्क वृद्धि र प्रत्येक वर्ष शुल्कमा ५ प्रतिशत स्वतः वृद्धि हुने निर्णय गरेको थियो । यस्तै बैठकले क्याम्पस प्रवेश शुल्कमा सतप्रतिशत वृद्धि गरेको थियो ।

विद्यार्थी संगठनले क्याम्पस घाटामा गएको नाममा विद्यार्थीको ढाड सेक्ने गरी गरिएको शुल्क बृद्धि निर्णय मान्य नहुने बताउँदै आन्दोलनका चेतावनी तत्काल दिएका थिए । तर सञ्चालक समिति निर्णयमा अडिग रह्यो ।

क्याम्पस सञ्चालक समितिले गरेको निर्णयमा कुनै फेरवदल नभएपछि पुस २२ गते शुल्क वृद्धि फिर्ताको माग गर्दै स्ववियु, अनेरास्ववियू र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रुपमा रिले अनशन सुरु गरेका हुन् । स्ववियु सभापति कुमार केसी, अनेरास्ववियू क्याम्पस कमिटी अध्यक्ष एमबी बस्नेत र अनेरास्ववियु क्रान्तिकारी क्यम्पस कमिटीका अध्यक्ष रामकृष्ण शिवाकोटीले रिले अनशनको सुरुवात गरेका थिए ।

सञ्चालक समितिले गरेको निर्णय विरुद्ध अनसशनमा उत्रिएका विद्यार्थी संगठन आज माघ ८ गते पनि बसिरहेका छन् । तर सञ्चालक समितिले कुनै पनि निष्कर्ष निकाल्न सकेको छैन । १६ दिनसम्म विद्यार्थी क्याम्पसको ढोकामा सुत्दा पनि सञ्चालक समितिले अग्रसरता नदेखाएको भन्दै आलोचना सुरु भएको छ ।

अनौपचारिक रुपमा पटकपटक वार्ता भएपनि ठोस निर्णय नभएको विद्यार्थी संगठनहरुले जनाएका छन् । समस्याको समाधान गर्ने भन्दा पनि विद्यार्थी संगठनलाई गलाउने तरिकाबाट वार्ता भइरहेको उनिहरुको भनाइ छ ।

१६ दिनसम्म रिले अनशन जारी रहेपछि आज जनसरोकार केन्द्र मकवानपुरले विज्ञप्ती जारी गर्दै क्याम्पस सञ्चालक समितिको ध्यानाकर्षण गराएको छ । केन्द्रका संयोजक ध्रुव चौलागाईंद्वारा जारी विज्ञप्तीमा विद्यार्थी खनशन बसेको १६ दिन हुँदासम्म पनि निष्कर्षमा पुग्न नसक्नु दुःखद् भएको उल्लेख छ ।

विज्ञप्तीमा शान्तिपूर्ण रिले अनशनमार्फत् शुल्क फिर्ताको माग गर्दै आन्दोलन गरिरहेका विद्यार्थी संगठनसँग ततकाल वार्ता गरी निष्कर्षमा पुग्न सञ्चालक समितिलाई आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*