सञ्चारकर्मी ढकालका हत्यारालाई ३९ वर्ष कैद

बाइलाइन नेपाल
२ माघ २०७६, बिहीबार २०:०५
ढकाल हत्याका आरोपी सार्वजनिक गर्दै मकवानपुर प्रहरी । फाइल फोटो

सञ्चारकर्मी मनोहर ढकाललाई डकैतीसहित हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले २ युवकलाई ३९ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको बिहीबार बसेको इजलासले हेटौंडा उपमहनगरपालिका—११ का अनमोल पुडासैनी र हेटौडा उपमहानगरपालिका—१२ का प्रविण वाईवालाई हेटौंडा उपमहानगरपालिका—११ नवलपुरका ढकालको हत्या गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।

ढकालको हत्या गरेकोमा जन्मकैद अर्थात २५ वर्ष र डकैती गरेकोमा १४ वर्षगरी ३९ वर्ष कैद गर्ने फैसला भएको स्रेस्तेदार केशवराज कौशिकले बताए। ढकालको सुनको औंठी खरिद गर्ने नारायणबहादुर सुनुवारलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।

३८ वर्षीय ढकालको पुडासैनी र वाईवाले २०७५ पुस २५ गते हेटौंडा उपमहानगरपालिका–१ भैरवडाँडामा हत्या गरेका थिए। हत्या गरेर ढकालसँग भएको सुनको औंठी, मोबाइललगायत सामान लुटेका थिए। २० वर्षीय पुडासैनी र १९ वर्षीय वाईवा भैरवडाँडाको खोल्सीमा लागु औषध सेवन गरिरहेको अवस्थामा सञ्चारकर्मी ढकाल मोटरसाइकल लिएर उक्त स्थानमा पुगेका थिए।

उनले ‘तिमीहरु यस्तो कुलतमा लाग्ने हो’ भनेर असल भावनाले सम्झाउन खोज्दा उल्टै ढकाललाई मोटरसाइकलबाट लडाएर कन्चटमा ढुंगाले हिर्काएर हत्या गरेका थिए। प्रहरी र अदालत समक्ष अभियुक्तद्धयले लागु औषध खान हुन्न भनेर हप्काएकाले रिस उठ्यो भने अर्कोतिर हातमा औंठी देखेर लुट्ने मनसायले हत्या गरेको साबिती वयान दिएका छन्। अभियुक्तद्धय क्षेत्रीय कारागार भीमफेदीमा विगत एक वर्षदेखि नै छन्।

हत्या गरिएका रेडियोकर्मी ढकाल दक्षिण एसियाकै पहिलो अडियो टावर पालुङमा कार्यरत थिए। २०५२ सालमा हालको थाहा नगरपालिका—२ मा पैंयुको रुखमा माइक राखेर समाचार र सूचनाहरु सार्वजनिक गर्ने गरिन्थ्यो। त्यही अडियो टावरमा उनी प्राविधिक कार्यमा संलग्न थिए। सोही अडियो टावरको विकसित रुप उनको सक्रियतामा २०६१ असार २१ गते पालुङमा सामुदायिक रेडियो पालुङ स्थापना गरिएको थियो। उक्त सामुदायिक रेडियोमा उनी प्राविधिकसहित कार्यक्रम सञ्चालक थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*