सागमा बिजेता मकवानपुरका खेलाडीलाई सम्मानसहित नगद प्रदान

बाइलाइन नेपाल
२९ पुष २०७६, मंगलवार १८:१९

हेटौंडा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा मकवानपुरबाट सहभागी भइ पदक जित्ने खेलाडीलाई आज सम्मानसहित नगद प्रदान गरिएको छ । हेटौंडा उपमहानगरपालिका र जिल्ला समन्वय समिति मकवानपुरले बिजेता १३ जना खेलाडीलाई सम्मान स्वरुप नगर परिक्रममा गराएर नगद प्रदान गरेको हो ।

उपमहानगरपालिकाले स्वर्ण विजेतालाई १ लाख, रजत बिजेतालाई ७५ हजार र कास्य बिजेतालाई ५० हजार नगद प्रदान गरेको मेयर हरिबहादुर महतले बताए । उपमहानगरपालिकाले उसुका प्रशिक्षकलाई २५ हजार र अरु प्रशिक्षकलाई ७ हजार नगदले पुरस्कृत गरेको छ ।

यसैगरी जिल्ला समन्वय समिति मकवानपुरले स्वर्ण विजेतालाई २५ हजार, रजत विजेतालाई २० हजार र काश्य विजेतालाई १५ हजार सहित पुरस्कृत गरिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए । यसैगरी प्रशिक्षकलाई ५ हजारसहित पुरस्कृत गरिएको छ ।

सागमा मकवानपुरका खेलाडीले ४ स्वर्ण, ४ रजत र ५ कास्य नेपाललाई दिलाएका थिए । कराँतेमा महसुस मोक्तान, फुटबलमा सुनिल बल तथा तेक्वान्दोमा सञ्जीवकुमार ओझा र निशा दर्नालले स्वर्ण पदक जितेका थिए ।

यस्तै, शिलु डंगोलले उसु, माया स्यांतान र निकेश मगर बास्केटबल तथा ह्यान्डबलमा देवकुमारी बाँस्कोटाले रजत पदक जितेका थिए । कास्य पदक जित्नेमा करातेमा रीता कार्की, उसुमा हरिप्रसाद गोले, खोखोमा राजन बल तथा बक्सिङमा पुरन राई र विकास लामा छन् ।

मेयर महतले मकवानपुरे खेलाडीले राम्रो खेलेकोमा बधाइ दिँदै सम्मान गरेर पुरस्कृत गरेको बताए । उनले खेलक्षेत्र विकासका लागि उपमहानगरपालिका लागिरहेको बताउँदै दीर्घकालीन विकासका लागि नीतिगत रुपमा लागिरहेको उल्लेख गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*