मन्त्रालय र मन्त्री आवासका लागि हेटौंडामा जग्गा खोज्दै सरकार

बाइलाइन नेपाल
२९ पुष २०७६, मंगलवार १५:५५

हेटौंडा । स्थायी राजधानी हेटौंडा कायम भएपछि वाग्मती प्रदेश सरकारले मन्त्रालय र मन्त्री आवास निर्माणका लागि जग्गाको खोजी सुरु गरेको छ । दुई वर्षसम्म अस्थायी राजधानी हुँदा तत्कालिन अवस्थाका क्षेत्रीय र जिल्ला तहका सरकारी कार्यालयले प्रयोग गरेका भवनमा नै मन्त्रालयहरु राखिएको छ ।

अब स्थायी भएपछि सबै मन्त्रालय एकै स्थानमा निर्माण गर्नका लागि प्रदेश सरकारले जग्गाको खोजी सुरु गरेको छ । सरकारले हेटौंडा उपमहानगरपालिकालाई पनि मन्त्रालय र आवासका लागि जग्गा खोजिदिन आग्रह गरेको मेयर हरिबहादुर महतले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिकाले दुई स्थानमा जग्गाको पहिचान गरेर प्रदेश सरकारलाई जानकारी दिएको महतले बताए । उपमहानगरपालिकाले प्रदेशका मन्त्रालय, आवास, प्रदेशसभा भवन निर्माणका लागि बजारबाट नजिकै रहेको जग्गा प्रदेश सरकारलाई देखाइदिएको उनले उल्लेख गरे ।

जसमध्ये हेटौंडा सिमेन्ट उद्योगको स्वामित्वमा रहेको हेटौंडा–९ लामसुरे हाइटको जग्गा रहेको छ । उक्त जग्गा ५४ विगाह रहेको मेयर महतले जानकारी दिए । यसैगरी हेटौंडा ५ मा रहेको प्राकृतिक जलाशय मत्य प्रर्वद्धन एवम् संरक्षण केन्द्रको २७ विगाह जग्गा पहिचना गरेर सरकारलाई जानकारी दिएको उनले बताए ।

प्रदेश सरकारलाई मन्त्रालय, आवास, प्रदेशसभा भवन निर्माणका लागि २५ विगाह भन्दा धेरै जग्गा आवश्यक रहेको बताइएको छ । भवन निर्माणका लागि बजेट विनियोजन भइसकेकाले जग्गाको टुंगो लगाएर निर्माण थाल्ने सरकारले जनाएको छ ।

यी स्थान बाहेक अन्यत्रपनि उपयुक्त जग्गाको खोजी भइरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । मन्त्रालयहरु सकेसम्म बजार क्षेत्रबाट टाढा नराख्ने जनाइएको छ ।

प्रदेश प्रमुख प्रदेश प्रमुखकै कार्यालयमा रहेको आवासमा बस्दै आएका छन् । मुख्यमन्त्री तत्कालिन क्षेत्रीय वन निर्देशक बस्ने आवासमा बसेका छन् भने मन्त्रीलाईहरु सिमेन्ट उद्योगको आवास गृहमा व्यवस्थापन गरिएको छ । सभामुख र उपसभामुख सडक कार्यालयको आवासमा बस्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*