नेकपा र काग्रेसका सांसदलाई हेटौंडाको पक्षमा मतदान गर्न ह्वीप

बाइलाइन नेपाल
२७ पुष २०७६, आईतवार ०७:५०

हेटौंडा । प्रदेश ३ को स्थायी राजधानी र नाम पारित गर्न आज हुन गइरहेको मतदानमा हेटौंडाको पक्षमा मतदान गर्न नेकपा र नोपली कांग्रेसले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।

दुवै पार्टीका संसदीय दलका नेताले सांसदहरुलाई राजधानी हेटौंडा र नाम वागमतीको पक्षमा मत प्रयोग गर्न ह्वीप जारी गरेका हुन् । नेकपा प्रदेश ३ का संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले सबै सांसदलाई भेला गरी निर्णय अनुसार हेटौंडा र वागमतीको पक्षमा मत हाल्न निर्देशन दिएको एक प्रदेशका मन्त्रीले जानकारी दिए ।

यसैगरी नेपाली कांग्रेस प्रदेश ३ का संसदीय दलका नेता इन्द्र बानियाँले पनि आफ्ना सांसदलाई हेटौंडा र वागमतीको पक्षमा मत हाल्न निर्देशन दिएका छन् । उनले पार्टीको निर्णय विरुद्ध नजान सबै संसदलाई आग्रह गरेका छन् ।

विवेकशिल साझा र विवेकशिल नेपाली दलले राजधानीमा धुलिखेल प्रस्ताव दर्ता गरेपछि नेकपा र नेपाली कांग्रेसले ह्वीप जारी गरेका हुन् । नेकपाले सबै दलको साझा सहमतिमा हेटौंडामात्र प्रस्ताव दर्ता गर्ने प्रयास गरेको थियो । नेकपाको अभियानमा कांग्रेस, नेमकिपा, राप्रपा र राप्रपा संयुक्त आएपनि विवेकशिल साझा र विवेकशिल नेपाली दलले फरक प्रस्ताव दर्ता गरेका थिए । नाममा भने वागमती सबै दलको साझा प्रस्ताव रहेको छ ।

संख्याको हिसाबमा हेटौंडा बलियो भएपनि धुलिखेल विकल्पका रुपमा दर्ता हुँदा सांसदहरुले फ्लोर क्रस गर्ने आशंकामा ह्वीप जारी गरिएको एक नेताले बताए । संसदमा प्रदेश ३ मा १ सय १० जना सांसद रहेका छन् । जसमध्येबाट सभामुखमा सानुकुमार श्रेष्ठ चयन भएपछि १ सय ९ जना रहेका छन् । १ सय ९ जना मध्ये नेकपाका सांसद ७९ जना रहेका छन् । जुन संख्या नै राजधानी पारितका लागि दुई तिहाइ मत रहेको छ ।

यसमा नेपाली कांग्रेसको २२, नेमकिपाको २, राप्रपा र राप्रपा संयुक्तको १र१ मत जोड्दा राजधानी हेटौंडाको पक्षमा १ सय ५ मत पुग्दछ । राजधानी धुलिखेल प्रस्तावको पक्षमा भने विवकशिल साझा पार्टी र विवेकशिल नेपाली को ३ मत मात्र रहेको छ । एक मत रहेको स्वतन्त्र सांसद प्रेम तामाङले भने मत प्रक्रियामा सामेल नहुने घोषणा गरिसकेका छन् । राजधानी र नाम प्रदेशसभाबाट पारित गर्न ७४ मत आवश्यक पर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*