हेटौंडा बाल कला–साहित्य महोत्सव भव्यताका साथ समापन

बाइलाइन नेपाल
२६ पुष २०७६, शनिबार २०:१४

हेटौंडा । नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयको आयोजनामा भएको हेटौंडा बाल कला– साहित्य महोत्सव शनिबार भव्यताका साथ समापन भएको छ । महोत्सवको दोस्रो दिन वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, साहित्यकार अमर न्यौपाने, लेखिका राधा पौडेललगायतले साहित्य तथा कलाका विभिन्न पाटोको चर्चा गरेका थिए ।

कार्यक्रममा हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) जोडीको सहयात्रा इमान्दारीले गर्दा नटुटेको बताएका छन् । महोत्सवमा बोल्दै महको म अर्थात मदनकृष्ण श्रेष्ठले दुवै जनाको इमान्दारीले गर्दा सहयात्रा र सहकार्य भइरहेको बताए ।

शासन व्यक्तिको होइन विधिको हुनुपर्छ सोही अनुरुप हाम्रो सहयात्रामा पनि दिगो रुपमा अगाडि बढिरेहेको उनले बताए । ‘आफू सात वर्ष हुदाँ आमा बित्नु भयो । आमाको माया पाउन सकिन ।’ श्रेष्ठले भने –‘आफूलाई बाल कलाकार जस्तै लाग्छ ।’ यस्तै मह जोडीका अर्का व्यक्ति ‘ह’ अर्थात हरिवंश आचार्यले कलाकार पेशा एकदमै राम्रो पेशा रहेको बताए । ‘शुरुमा स्क्रिप्ट आफूले तयार पार्नुपर्छ ।

त्यही अनुरुप कलाकार डाक्टर, ट्राफिकअन्य व्यक्ति पनि बन्न पाउँछ ।’–उनले भने । ‘विद्यालयमा पढ्दा शिक्षकहरुले पिट्ने, तर्साउने गर्थे । बुवा आमाको सपना मलाई पण्डित बनाउने थियो । तर बुवा र मेरो सपना फरक भयो ।’ व्यङ्ग्य गर्दै उनले भने –‘विद्यालयलाई छोडेर म चलचित्र माध्यमिक विद्यालयमा गएर पढ्न जान्थे । त्यसैले म कलाकार भए र अहिले मह विश्वविद्यालय पनि सञ्चालन भएको छ ।’ उनले फरक प्रसंगमा भने –‘पञ्चायत कालमा स्याटर हान्न पाइदैन थियो । कलाको प्रयोग गर्नुपथ्र्यो ।

तर अहिले व्यक्तिको नाम लिएर व्यङ्ग्य गरेर आरोप लगाउने चलन हावी भएको छ ।’ साहित्यकार भूपिन खड्काले मह जोडी कार्यक्रम सहजीकरण गरेका थिए ।हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले बालसाहित्य महोत्सवले विद्यार्थीको प्रतिभा प्रस्फोटन गर्नेमा जोड दिए ।

कार्यक्रममा हाँस्यव्यङ्ग्यकार आरसी रिजाल र राजकुमार लामिछानेले नाटक प्रहर्सन गरेका थिए । नवोदय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशीले महोत्सवले विद्यार्थीहरुको कला र साहित्यमा निखारता ल्याउने भएकोले कार्यक्रम आयोजना गरेको बताए । महोत्सवले सिर्जनात्मक पठन संस्कृति, कलाको विविध पक्षहरुको समिश्रित शिक्षण प्रविधि र प्रक्रियाका बारेमा ज्ञान दिने उनले बताए ।

नवोदय विद्यालयका निर्देशक दीपेश जोशीले दोस्रो महोत्सव सञ्चालन गराउन सहयोग पु¥याउनुहुनेलाई धन्यवाद व्यक्त गर्दै आगामी वर्ष पनि तेस्रो महोत्सव आयोजना गरिने बताए । कार्यक्रममा नवोदय विद्यालयमा अध्ययनरत ४४ जना विद्यार्थीद्वारा रचित फक्रदो इन्द्रेणी, रोशन पोखरेलको नोर र मकवानपुर बाल विद्या सदनका विद्यार्थीद्वारा रचित स्पार्कल फ्रम स्वयम्भूकिताब विमोचन गरेका थिए । महोत्सवको पूर्वसन्ध्यामा थाहानगरमा भएको कार्यशालामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार प्रदान गरेको थियो । दुईदिन भएको महोत्सवमा बाल कला–साहित्य सम्वन्धमा सर्जकहरुसँग छलफल, कथा लेखन, नाटक मञ्चन, कविता, मुक्तक, गजल लेखन र वाचन, कला प्रर्दशनी, पुस्तक प्रर्दशनी, प्यानल डिस्कसनलगायतका विषयमा छलफल भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, साहित्यकार तथा लेखक राधा पौडेल, साहित्यकार अमर न्यौपाने, समिक्षक घनश्याम घिमिरेलगायतको आतिथ्यता रहेको थियो । नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालय, काठमाडौं पब्लिकेशन र हेटौंडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा महोत्सव भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*