प्रदेशसभामा यस्तो छ मतको अवस्थाः हेटौंडाको पक्षमा १०५ मत, धुलिखेलको पक्षमा ३ मत

ध्रुव अधिकारी
२६ पुष २०७६, शनिबार १५:५८
फाइल तस्वीर

हेटौंडा । सरकार गठन भएको दुई वर्षपछि प्रदेश ३ ले स्थायी राजधानी र नाम पाउने भएको छ । पुस २७ गते आइतबार प्रदेशसभाबाट स्थायी राजधानी र नाम पारित गर्ने कार्यसूचि रहेको छ । जस अनुसार शनिबारको प्रदेशसभा बैठकमा राजधानी र नाम प्रस्ताव भइसकेका छन् ।

प्रदेशसभामा नेकपा, नेपाली कांग्रेस, नेमकिपा, राप्रपा र राप्रप्रा संयुक्तले संयुक्त रुपमा राजधानी हेटौंडा प्रस्ताव गरेका छन् । विवेकशिल साझाले मात्र राजधानी धुलिखेल हुनुपर्ने भन्दै प्रस्ताव पेश गरेको छ । नाममा भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलले वागमती मै सहमती जनाएर प्रस्ताव पेश गरेका छन् । प्रस्तावित राजधानी हेटौंडा, धुलिखेल र नाम वागमतीमा स्वतन्त्र सांसद प्रेम तामाङको भने समर्थन रहेको छैन ।

गणितिय रुपमा प्रदेश ३ को राजधानी हेटौंडा र नाम वागमती हुने निश्चित भइसकेको छ । नेकपा र कांग्रेसका सांसदले धोका दिएनन भने दुई तिहाइभन्दा पनि बढी मतले हेटौंडा र राजधानी पारित हुने अवस्थामा छ । दुवै दलमा हेटैंडा र वागमती हुँदैन भन्दै असन्तुष्टि जनाएपनि प्रस्ताव दर्ता र पेश गर्दा सबैले समर्थन गरेका छन् । त्यसैले पनि फ्लोर क्रस हुने अवस्था देखिदैन ।

प्रदेश ३ मा १ सय १० जना सांसद रहेका छन् । जसमध्येबाट सभामुखमा सानुकुमार श्रेष्ठ चयन भएपछि १ सय ९ जना रहेका छन् । १ सय ९ जना मध्ये नेकपाका सांसद ७९ जना रहेका छन् । जुन संख्या नै राजधानी पारितका लागि दुई तिहाइ मत रहेको छ ।

यसमा नेपाली कांग्रेसको २२, नेमकिपाको २, राप्रपा र राप्रपा संयुक्तको १/१ मत जोड्दा राजधानी हेटौंडाको पक्षमा १ सय ५ मत पुग्दछ । राजधानी धुलिखेल प्रस्तावको पक्षमा भने विवकशिल साझा पार्टी र विवेकशिल नेपाली  को ३ मत मात्र रहेको छ । एक मत रहेको स्वतन्त्र सांसद प्रेम तामाङले भने मत प्रक्रियामा सामेल नहुने घोषणा गरिसकेका छन् । राजधानी र नाम प्रदेशसभाबाट पारित गर्न ७४ मत आवश्यक पर्दछ ।

प्रदेशको नाम वागमतीमा भने सबैको समर्थन रहेको छ । नाम वागमतीका लागि स्वतन्त्र सांसदबाहेक अरुको समर्थन रहेकाले १ सय ८ मत नै रहेको देखिन्छ । आइतबार बिहान ९ बजेबाट सुरु हुने प्रदेशसभा बैठकले राजधानी र नाम पारित गर्ने छ ।

प्रदेशको राजधानी र नामसम्बन्धमा सबै दलको सहमति जुटाउन प्रदेश सरकारले शुक्रबारै सर्वदलीय बैठक राखेको थियो । बैठकमा एउटा मात्र प्रस्ताव पेस गर्न अन्य दललाई सहमत गराउने प्रयास प्रदेश सरकारले गरेको थियो ।

बैठकमा नेकपाको दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल, उपनेता तथा मन्त्री शालिकराम जम्कट्टेल, कांग्रेस दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपा संयुक्तकी रीना गुरुङ, राप्रपाकी रीता माझी र नेमकिपाका सुरेन्द्रराज गोसाईंले स्थायी राजधानी हेटौँडामै राख्ने तथा नाम बागमती नै राख्ने सहमति जनाएका थिए । यस्तै, विवेकशील नेपाली दल र साझा विवेकशीलले आधिकारिक धारणा दिएका थिएनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*