भोली राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव दर्ता हुने

बाइलाइन नेपाल
२५ पुष २०७६, शुक्रबार १७:५७

हेटौंडा । प्रदेशसभामा भोली बिहान स्थायी राजधानी र नामाकरणका लागि प्रस्ताव दर्ता गर्न आव्हान गरिएको छ । आज शुक्रबार बसेको प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले भोली शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म स्थायी राजधानी र नामाकरणका लागि प्रस्ताव दर्ता गर्न आव्हान गरेका हुन् ।

सभामुख श्रेष्ठले प्रदेशको स्थायी राजधानी तोक्ने सम्बन्धी कार्यविधि २०७६ को अनुसूचि–१ बमोजिमको ढाँचामा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले सिफारिस गरेको जिल्ला मध्येबाट प्रदेशको राजधानी सम्बन्धी प्रस्ताव दर्ता गर्न र प्रदेशको नामाकरण सम्बन्धी कार्यविधि २०७६ को अनुसूचि–१ बमोजिमको ढाँचामा प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव दर्ता गर्न समय प्रदान गरेका हुन् ।

आज शुक्रबारको बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन माथिको छलफलमा सांसदहरुले भाग लिएका थिए । सांसद तथा पूर्व मन्त्री केशव स्थापितले काठमाडौं उपत्यका, नुवाकोट, काभ्रे राजधानी बनाउनु नहुने बताए । हेटौंडादेखि चितवनसम्म राजधानी बनाउनु पर्ने धारणा राखे ।

८ लेनको सडक, चुरेलाई संरक्षण गर्दै चितवनसम्म राजधानी बनाउँदा सबैलाई पायक पर्ने बताए । मुख्यमन्त्रीलाई छाती ठूलो बनाएर चितवनको रत्ननगरसम्म राजधानी बनाउन आग्रह गरे ।

अर्का सांसद कुमारी मोक्तानले राजधानी जहाँ रहेता पनि जनताको सेवा सर्वशुलभ, बिना कठिनाई र छिटोछरितो बनाउनु पर्ने बताइन् ।
उनले राजधानी हेटौंडाबाट सारेर प्रदेश सरकारलाई भार थप्न नहुने बताइन् । छलफलमा जुनेली श्रेष्ठ, दीपेन्द्र श्रेष्ठ, भीमसेन खत्री, रजनी अमात्य, कल्पना नेपाललगायतले भाग लिएका थिए ।

छलफलमा उठेका प्रश्नको जवाफ समितिका संयोजक दीपक निरौलाले दिएका थिए । उनले संसदले दिएको अधिकार क्षेत्र भित्र रहेर प्रतिवेदन बनाउको बताए । सबै जिल्लामा पुगेर सरोकारवालसँग छलफल गरेर, अध्ययन गरेर पाँच जिल्लाका आधारसहित प्रतिवेदनमा उल्लेख गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*