राजधानीमा आज सहमतिको प्रयास, नभए ह्वीप लगाइने

बाइलाइन नेपाल
२४ पुष २०७६, बिहीबार ०७:००

हेटौंडा । नेकपा प्रदेश ३ को संसदीय दलको बैठक आज (बिहीबार) बिहान हेटौंडामा बस्ने भएको छ । यसअघि तीन दिनसम्म बैठक बस्दा पनि स्थायी राजधानीको विषयमा सहमति जुटाउन नसकेपछि बैठक स्थगित गरिएको थियो ।

दलको बैठकमा पार्टी सचिवालयको निर्देशन अनुसार सहमति जुटाउने प्रयास गरेपनि केही सांसदले विरोध जनाएपछि बैठकले निर्णय गर्न सकेको थिएन् । बैठकमा सहमति नजुटे पछि नेकपा प्रदेश ३ कमिटीका इन्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहालसहित प्रदेशका केही मन्त्री र सांसद अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई भेट्न काठमाडौं पुगेका थिए ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालयले गरेको निर्णय राजधानी हेटौंडा र नाम वागमती नै कायम हुने र त्यही अनुसार मत जाहेर गर्न फेरि निर्देशन दिएपछि प्रदेश कमिटीका पदाधिकारी र मन्त्रीहरु र असन्तुष्ट सांसदहरु सहमति जनाउँदै हेटौंडा फर्किएका थिए ।

मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा आज बिहान ८ बजेबाट संसदीय दलको बैठक सुरु हुने जनाइएको छ । मुख्यमन्त्री पौडेलले अब असहमतिको पाटो अन्त्य भइसकेकाले सचिवालयको निर्देशन अनुसार नै दलको बैठकमा निर्णय हुने जानकारी दिए । उनले पुस महिना भित्रमा प्रदेश ३ ले नाम र राजधानी पाइसक्ने दाबी गरे ।

शिर्ष नेतृत्वले हेटौंडा र वागमतीमा दायाँबायाँ नगर्न निर्देशन दिएर प्रदेश कमिटी, केही मन्त्री र नेताहरुलाई हेटौंडा पठाएपछि बस्न लागेको आजको बैठकले साझा धारणाा बनाउने प्रयास हुने जनाइएको छ । आजको बैठकमा सहमति नजुटे पार्टीले ह्वीप जारी गरेर भएपनि सचिवालयको निर्णय र निर्देशन कार्यान्वयन गर्ने तयारी गरेको छ ।

ओलीले राजधानी हेटौंडा र नाम वागमतीमा कमा र फुलिस्टपमा समेत तलमाथि नहुने भन्दै पार्टीको निर्णय र निर्देशन नमान्नेको पद र पार्टी दुवै नरहने चेतावनी दिइसकेका छन् । त्यसैले फरक मत राख्दनराख्दै पनि प्रदेशका सांसदहरुले पार्टीको निर्देशन अनुसार सहमतिको बाटोमा जानु पर्ने बाध्यता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*