ओली–प्रचण्डको जवाफः ‘पार्टी निर्णय नमान्नेको पद पनि रहँदैन, पार्टी पनि रहँदैन’

बाइलाइन नेपाल
२३ पुष २०७६, बुधबार १९:५४

हेटौंडा । नेकपा प्रदेश ३ को संसदीय दलको बैठकमा सहमति नजुटेपछि काठमाडौं पुगेका असन्तुष्ट नेता तथा सांसदलाई पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले कठोर जवाफ दिएर हेटौंडा फर्काइदिएपछि सचिवालयको निर्णय कार्यान्वयनमा सांसदहरुको भूमिका के हुन्छ भन्ने चासो बढेको छ ।

हेटौंडाको पक्षमा ह्वीप जारी गर्नुअघि अन्तिम पटक छलफल गर्न नेकपा नेतृत्वले प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल, नेताहरु राजेन्द्र पाण्डे, पशुपति चौलागाईलगायत केही मन्त्री र प्रमुख सचेतक रामेश्वर फुँयाललाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए ।

नेतृत्वले निर्णय मान्न वा पद त्याग्न तयार हुनेबाहेक अरु विकल्पमा अहिले छलफल नहुने कठोर जवाफ दिएपछि प्रदेश नेताहरु हेटौंडा फर्किएका थिए । अब नेकपाका प्रदेशसभा सदस्यसमक्ष पार्टीको निर्णय मान्ने वा पद त्याग्नेबाहेक अन्य विकल्प छैन ।

अध्यक्ष ओलीले बैठकमा राजधानी हेटौंडा र नाम वागमतीमा कमा फुलिस्टप पनि परिवर्तन हुँदैन । पार्टी निर्णय नमान्नेले पार्टीमा छैन भनेर बुझे हुन्छ । निर्वाचन आयोगले सूचना जारी गरिसकेको छ । पद पनि रहँदैन, पार्टी पनि रहँदैन भन्दै जवाफ दिएको एक सहभागीले बताए ।

अर्का अध्यक्ष दाहालले प्रदेशका राजधानीमा पनि तपाईहरु धेरै अडान नलिनुस् । बाँके बर्दिया भोलि कर्णालीमा जान सक्छन्, हेटौंडालाई माझमा पार्न बारा पर्सा रौतहट प्रदेश ३ मा रामेछाप, दोलखा सिन्धुली प्रदेश २ मा जान पनि सक्छ भन्दै सचिवालयको निर्णयलाई मान्न निर्देशन दिए ।

छलफलमा शाक्य, पाण्डे र चौलागाईले सचिवालयको निर्णयप्रति आक्रोश पोख्दै प्रदेशसभा सदस्यका कुरा सुन्न हेटौंडामा आउन चुनौति दिएका थिए । आफूहरुले दलको बैठकमा कुरा सुन्न आउनुस भन्दा अध्यक्ष प्रचण्ड र महासचिवले डराएर बालुवाटारमा बोलाएको उनीहरुको भनाइ थियो । प्रदेशसभाको संवैधानिक अधिकार नेकपा नेतृत्वले खोसेको आरोप उनीहरुको थियो ।

तर, दुवै अध्यक्षले एकै स्वरमा हेटौंडा राजधानी र बागमती नाम राख्ने निर्णयबाट ‘ब्याक’ नहुने जवाफ दिएका थिए । प्रचण्डले पहिचानको राजधानी आफ्नै नेतृत्वमा भएको भन्दै आफूले अहिले मुलुक बचाउने बाटो लिएको बताएका थिए । उनले अहिलेका राजधानीहरु सधैंभरका लागि नहुने भन्दै भोलि आवश्यकता अनुसार प्रदेशकै पुनसंरचना हुने बताएका थिए ।

दाहालले प्रदेशका राजधानीमा पनि तपाईहरु धेरै अडान नलिनुस् । बाँके बर्दिया भोलि कर्णालीमा जान सक्छन्, हेटौंडालाई माझमा पार्न बारा पर्सा रौतहट प्रदेश ३ मा रामेछाप, दोलखा सिन्धुली प्रदेश २ मा जान सक्न े बताए ।
प्रदेश इञ्चार्ज शाक्यले सचिवालयको निर्णयप्रति आपत्ति जनाएकी छन् भने अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेल पार्टी निर्णय कार्यन्वयन गराउने पक्षमा छन् ।
प्रदेश कमिटीका पदाधिकारीहरु पार्टी निर्णय कार्यान्वयन गराउने तयारीमा रहे पनि नेकपाका सांसदहरु अझै सहमत भएका छैनन् । उनीहरुले संगठित रुपमै बहुमतबाट प्रदेश राजधानी हेटौंडा बनाउन प्रयास असफल बनाउनेबारे छलफल समेत गरिरहेका छन् । तर, गुटका आधारमा विभाजित भएमा यो प्रयास सफल हुने देखिन्न ।

विहीबार बिहान नेकपा संसदीय दलको बैठक राखेर एकमत गराउने प्रयास हुने नेकपा नेताहरुले बताएका छन् । सम्भवतः संसदीय दलको तर्फबाट हेटौंडा र बागमतिको पक्षमा ह्वीप जारी हुनेछ । ह्वीप उल्लंघन गर्न कुनै नेकपा सांसद तयार होलान् ? त्यो सम्भावना भने देखिन्न । त्यसो भयो भने पद र राजनीति दुवै सिद्धिने चेतावनी नेतृत्वले दिइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*