भोली बिहान नेकपा संसदीय दलले ‘हेटौंडाको पक्षमा निर्णय’ गर्ने

बाइलाइन नेपाल
२३ पुष २०७६, बुधबार १८:५७

हेटौंडा । नेकपा प्रदेश ३ को संसदीय दलको बैठक भोली (बिहीबार) हेटौंडामा बस्ने भएको छ । यसअघि तीन दिनसम्म बैठक बस्दा पनि स्थायी राजधानीको विषयमा सहमति जुटाउन नसकेपछि बैठक स्थगित गरिएको थियो ।

दलको बैठकमा पार्टी सचिवालयको निर्देशन अनुसार सहमति जुटाउने प्रयास गरेपनि केही सांसदले विरोध जनाएपछि बैठकले निर्णय गर्न सकेको थिएन् । बैठकमा सहमति नजुटे पछि नेकपा प्रदेश ३ कमिटीका इन्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहालसहित प्रदेशका केही मन्त्री र सांसद अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई भेट्न काठमाडौं पुगेका थिए ।

अध्यक्षद्वयले सचिवालयले गरेको निर्णय राजधानी हेटौंडा र नाम वागमती नै कायम हुने र त्यही अनुसार मत जाहेर गर्न फेरि निर्देशन दिएपछि प्रदेश कमिटीका पदाधिकारी र मन्त्रीहरु र असन्तुष्ट सांसदहरु सहमति जनाउँदै हेटौंडा फर्किएका थिए ।

मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बिहीबार बिहान ८ बजेबाट संसदीय दलको बैठक सुरु हुने जनाइएको छ । मुख्यमन्त्री पौडेलले अब असहमतिको पाटो अन्त्य भइसकेकाले सचिवालयको निर्देशन अनुसार नै दलको बैठकमा निर्णय हुने जानकारी दिए । उनले पुस महिना भित्रमा प्रदेश ३ ले नाम र राजधानी पाइसक्ने दाबी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*