दुई वर्षपछि राजधानीको विषय प्रदेशसभामा

बाइलाइन नेपाल
२३ पुष २०७६, बुधबार १८:४९

हेटौंडा । प्रदेश ३ को सरकार गठन भएको दुई वर्षपछि बल्ल स्थायी राजधानीको विषयले प्रदेशसभामा प्रवेश पाएको छ । प्रदेशसभाको हिउँदे अधिवेशनको दोस्रो दिन बुधबार बसेको बैठकमा स्थायी राजधानीको विषयमा छलफल सुरु भएको हो ।

२०७५ वैशाख १४ प्रदेशसभाले सांसद दीपक निरौलाको संयोजकत्वमा रहेको १३ सदस्यीय राजधानी सम्भाव्यता अध्ययन विशेष समिति गठन गरेको थियो । समितिले ०७५ असार २६ गते प्रदेशका ५ जिल्ला उपयुक्त रहेको निश्कर्षसहित प्रदेशसभालाई प्रतिवेदन बुझाएको थियो । तर उक्त प्रतिवेदन माथि संसदमा हालसम्म छलफल भएको थिएन् ।

नेकपा सचिवालयले प्रदेश ३ को राजधानी हेटौंडा र नाम वागमती राख्ने निर्णय गरेसँगै प्रदेशसभाको कार्यसूचिमा पनि यसले प्राथमिकता पाएको छ । बुधबारको बैठकमा समितिका संयोजक निरौलाले प्रतिवेदन माथि छलफलका लागि प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरुले भाग लिएका छन् । सांसदहरुले बोल्ने क्रममा राजधानीको विषयमा मत विभाजन भएको छ ।

बुधबार छलफलमा भाग लिएका सांसद मध्ये दिनेश सुवेदी, गिता वाग्ले, बलराम पौडेल, विजया श्रेष्ठले हेटौंडा नै स्थायी राजधानीका लागि उपयुक्त रहेको बताए । यस्तै शशीजंग थापा, र कृष्णलाल भडेलले भक्तपुर राजधानी हुनुपर्ने मत राखेका थिए । यसैगरी, रत्नप्रसाद ढकाल, नरोत्तम वैद्य, बसुन्धारा हुमागाईं, लक्ष्मण लम्सालले काभ्रे हुनपर्ने उल्लेख गरे । बैठकमा विशाल खड्का,पुकार महर्जन, हिरालाल खतिवडा, प्रतिमा श्रेष्ठ, मिना ज्ञावाली, इन्द्रमाया ब्लोनले सबैको सहमतिमा पायक पर्ने स्थानमा राजधानी राख्नु पर्ने मत राखेका थिए ।

सांसदहरुको बोल्ने क्रम रहेकाले प्रदेशसभा बैठकमा बिहीबार पनि राजधानीको विषयमा छलफल जारी रहने जनाइएको छ । बैठक बिहीबार ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

समितिले राजधानीको लागि सिफारिस गरेको जिल्लाहरुमा वर्णानुक्रमअनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर रहेको छ । समितिले जिल्लाको भौगोलिक अवस्था, पूर्वाधार, बाटोको पहुँच, केन्द्रबिन्दुलगायतका मापदण्डका आधारमा अंक दिएर प्राथमिकता क्रम प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘समितिको सदस्यमा रामकुमार अधिकारी, विजय सुवेदी, वसन्त मानन्धर, सरस्वती बस्नेत, विशाल खड्का र जगत सिम्खडा, छिरिङ दोर्जे लामा र प्रभात तामाङ, विराजभक्त श्रेष्ठ, सुरेन्द्रराज गोसाईं, रिता माझी र राप्रपा संयुक्तकी रिना गुरुङ सदस्य रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*