संसदमा पौडेल र बानियाँको एकै स्वरः राजधानीमा हेटौंडाको विकल्प नखोजौं

बाइलाइन नेपाल
२१ पुष २०७६, सोमबार १७:५३

हेटौंडा । प्रदेश ३ को प्रदेशसभा (संसद) बैठक आज सोमबारबाट सुरु भएको छ । संसदको पाँचौ अधिवेशनको पहिलो दिन शुभकामना सन्देश दिंदै प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बानियाँले स्थायी राजधानीमा हेटौंडाको विकल्प नखोज्न आग्रह गरेका छन् ।

नेकपा प्रदेश ३ का संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री पौडेलले प्रदेशसभाको विधि र प्रक्रियाबाटै यो अधिवेशनमा स्थायी राजधानी र नामको टुंगो लाग्ने बताए । उनले लामो समयदेखि प्रतिक्षामा रहेको नाम र राजधानी टुंगाउने भएकाले यो अधिवेशन ऐतिहासिक हुने उल्लेख गरे ।

नेकपाको सचिवालयले निर्णय र निर्देशन दिएपनि सवैधानिक प्रक्रियाबाट राजधानी र नाम टुंगो लाग्ने उल्लेख गर्दै उनले सबैको सहमतिमा राजधानीको निर्णय गरेर उदाहरण बन्नु पर्ने बताए । उनले घुमारो शैलीमा पार्टीको निर्देशन अनुसार हेटौंडा नै राजधानी कायम हुने बताए ।

यस्तै कांग्रेस प्रदेश ३ का संसदीय दलका नेता इन्द्र बानियाँले देशका लागि प्रदेशको राजधानी हेटौडाको विकल्प नभएको बताए । उनले नेकपाले हेटौंडा राजधानी राख्ने विषयमा आफ्नो सहत रहेपनि प्रक्रिया भने गलत रहेको बताए ।

उनले सामरिक दृष्ट्रिकोण, हिजोको नेतृत्वले अस्थायी राजधानी तोक्दा देखाएको दुरदर्शीतालाई बुझ्दै हेटौंडालाई राजधानी बनाउनुको विकल्प नभएको उल्लेख गरे । राष्ट्रिय स्वधिनता, अखण्डता र संघीयता बलियो बनाउनका लागि पनि हेटौंडाको विकल्प नखोज्न सांसदहरुलाई आग्रह गरे । उनले फरक मत राख्ने अधिकार भएपनि मत प्रकट गर्दा हिजोको निर्णय र दिघकाललाई हेरेर गर्नुपर्ने बताए ।

बैठकमा विवेकशिल नेपाली दलका रमेश पौडेल, नेमकिपाका सुरेन्द्रलाल गोसाईं, राप्रपाका रिता माझी, राप्रपा संयूक्तकी रिना माझी र स्वतन्त्र सांसद प्रेमबहादुर तामाङले सरकारको कामको आलोचना गर्दै तत्काल राजधानीको टुंगो लगाउन माग गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*