हेटौंडाको पक्षमा मतदान गर्न नेकपाले ह्वीप लगाउने, अवज्ञा गर्नेलाई कारबाही

बाइलाइन नेपाल
२१ पुष २०७६, सोमबार १४:०७

हेटौंडा । प्रदेश सरकार गठन भएको दुई वर्षसम्म नेकपाकै सांसदहरुको किचलोका कारण टुंगो लाग्न नसकेको प्रदेश ३ को स्थायी राजधानी र नामको विषयलाई सचिवालयले निर्णय गरेपछि पेचिलो बनेको छ । सचिवालयको निर्णय र निर्देशन कार्यान्वयन गर्न ३ दिन बसेको नेकपा प्रदेश ३ को संसदीय दलको बैठक पनि ठोस निर्णयमा पुग्न सकेको छैन ।

आज पनि सचिवालयको निर्णय अनुसार हेटौंडा राजधानी र नाम वागमतीमा सबै सांसदको सहमती जुटाउने प्रयास भइरहेको छ । नेकपाका उपलब्ध केन्द्रीय सदस्यसहित सांसदहरुको बैठक आजपनि जारी रहेको छ । नेकपाले सकेसम्म सबै सांसदलाई सहमतिमा ल्याएर प्रदेशसभाबाट सचिावलकै लाइनलाई पारित गराउने प्रयास गरिरहेको छ । तर केही सांसदले पार्टीको निर्देशन नमान्ने बताएपछि ह्वीप लगाउने तयारी गरिएको छ ।

पार्टीको निर्देशन आफ्नै सांसदहरुले अवज्ञा गर्ने अवस्था आएमा ह्वीप लगाएर भएपनि सचिवालयको निर्देशन कार्यान्वयन गरिने एक सचिवालय सदस्यले बताए । ‘अहिलेसम्म सांसदहरुको प्रतिक्रिया सुनिरहेका छौं । पार्टीको निर्णय कार्यान्वयनका लागि ह्वीप जारी हुनसक्छ । व्हिप नमान्ने सांसदलाई पार्टीले कारबाही गर्छ । पार्टीको नीति, निर्देशन नमान्नेलाई माया गरिरहनु पर्दैन्,’– उनले भने ।

हेटौंडामा ३ दिन भएको संसदीय दलको बैठकमा काभ्रे बाहेकका सांसदले पार्टीको निर्देशन मान्ने मत राखेको एक सांसदले जनाए । काभ्रेका केही सांसदले मात्र पार्टीको निर्णय विपरित हेटौंडा राजधानी नहुने बताएका छन् ।  सिन्धुली, मकवानपुर , चितवन, काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, रामेछाप, नुवाकोट, धादिङका प्रदेशसभा सदस्यले हेटौंडा राजधानी हुनुपर्ने र पार्टी निर्णय मान्नु नपर्ने धारणा राखेका छन् ।

सकेसम्म सबैलाई सहमतिमा ल्याउने प्रयास भइरहेको छ तर अन्तमा मान्दै नमान्ने अवस्था आएमा पार्टीले एक्सन लिने जनाइएको छ । एक सांसदले भने–‘ह्वीप जारी हुन्छ, जसले निर्देशन विपरीत मत जाहेर गर्छ उसलाई तत्काल कारबाही हुन्छ । सचिवालयले गरेको निर्णयबाट पार्टी पछि हट्ने अवस्था छैन ।’ बरु केही दिन सभा स्थगित गरेर भएपनि सचिवालयकै अनुसार राजधानी र नाम पारित हुने उनले बताए ।

पार्टी प्रदेश कमिटीले ह्वीप लगाउनु अगाडि नेकपाका शीर्ष नेतृत्वसँग छलफल थालेको छ । दुई अध्यक्षसँग अनुमति लिएर पार्टी निर्णय कार्यान्वयन गराउने तयारी प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यसहितका पदाधिकारीको छ ।

राजेन्द्र पाण्डे, पशुपति चौलागाई, शान्ति पौडेललगायतका पूर्वएमालेका नेताहरुले पार्टी हृवीप नमान्ने र फ्लोर क्रस गर्ने चेतावनी दिएका थिए ।

राजधानी सम्बन्धी पार्टी निर्णय कार्यान्वयन गराउन नसकेपछि प्रदेशसभा बैठक पुस २३ गतेलाई सारेर प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेल काठमाडौं जाने भएका छन् । उनीहरुले शीर्ष नेतृत्वलाई भेटेर सबै कुरा अवगत गराउने र नेतृत्वको अनुमतिपछि ह्वीप लगाउने तयारी छ ।

पार्टीमा प्रष्ट दृष्टिकोण नबनाइ संसदमा जाँदा नेकपाकै सांसदहरु बिभाजित भएमा नराम्रो सन्देश जाने भन्दै प्रदेश पदाधिकारीले शीर्ष नेतृत्वसँग छलफल गर्न लागेका हुन् । पार्टी नेतृत्वले प्रष्ट अनुमति दिएपछि हृवीप लगाएर पार्टी निर्णय कार्यान्वयन गराइने नेकपाका एक पदाधिकारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*