स्थायी राजधानी कायम गराउन प्रचण्ड हेटौंडा आउने

बाइलाइन नेपाल
२१ पुष २०७६, सोमबार ०७:१९

हेटौंडा । नेकपा सचिवालयले गरेको प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम वागमती प्रदेशसभाबाट पारित गराउन आफ्नै पार्टीका केही सांसदले ‘धोका’ दिने संकेत देखाएपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हेटौंडा आउने भएका छन् ।

सचिवालयको निर्णय र निर्देशन कार्यान्यन गराउन तीन दिनसम्म बसेको नेकपा प्रदेश ३ संसदीय दलको बैठकले सहमति जुटाउन नसकेपछि अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेल हेटौँडा आउने तयारीमा रहेको स्रोतले जनाएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पनि प्रचण्ड र पौडेललाई हेटौंडा गएर समस्याको समाधान गर्न र सचिवालयको निर्णय कार्यान्वयन गराउन सांसदहरुलाई निर्देशन दिन आग्रह गरेको स्रोतले जनाएको छ । ओली र प्रचण्ड छलफलपछि हेटौंडा आउने तय भएको जनाइएको छ ।

राजधानी बारे आज( सोमबार) पनि आन्तरिक छलफल रहेका छन् । आज सोमबारसम्म पनि राजधानीबारे सहमति नजुटे अध्यक्ष प्रचण्ड र महासचिव पौडेल हेटौँडा आएर सचिवालयको निर्णय अनुसार नै प्रदेशसभाबाट राजधानी र नाम पारित गराउन सांसदहरुलाई निर्देशन दिने जनाइएको छ ।

आज (सोमबार) बिहान नेकपाका केन्द्रीय सदस्यहरु र प्रदेश सांसदहरुको छलफल बोलाइएको छ । प्रदेशसभा बैठक बस्नुअघि नेकपाका केन्द्रीय सदस्य रहेका नेताहरुसँग छलफल गरिने एक सांसदले जानकारी दिए । उक्त छलफलमा पनि सहमति नजुटे सोमबार वा मंगलबार प्रचण्ड र पौडेल हेटौंडा आउने तयारी गरेका हुन् ।

तीनमहिना पछि आज दिउँसो ३ बजेलाई प्रदेशसभा बैठक बोलाइएको छ । सोमबार र मंगलबारसम्मपनि नेकपामा सहमति नजुटे बैठक स्थगित हुने सम्भावना रहेको एक सांसदले बताए । अधिकांश सांसद पार्टीको निर्देशन मान्न तयार रहेपनि केही सांसदले समस्या पारेको स्रोतले जनाएको छ ।

पार्टी नेतृत्व भने व्हिप लगाएर भएपनि सचिवालयको निर्णय अनुसार नै राजधानी र नाम सभाबाट पारित गराउने पक्षमा रहेका छन् । जसले गर्दा पार्टीको निर्देशन नमान्ने सांसद कारबाहीमा पर्न सक्ने देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*