प्रदेशसभा बैठक आज बस्दै, के हेटौंडा नै स्थायी राजधानी होला ?

बाइलाइन नेपाल
२१ पुष २०७६, सोमबार ०६:३३

हेटौंडा । असोजमा चौथो अधिवशेनको समापन गरेपछि बन्द भएको प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बस्दै छ । आज बस्न लागेको बैठकको प्रति सबैको चासो रहेको छ । दुई वर्षदेखि प्रदेशसभाले टुंगो लगाउन नसकेको प्रदेश ३ को स्थायी राजधानी र नामको विषयले प्राथमिकता पाउने भएपछि सबैको चासो बढेको हो ।

आजबाट सुरु हुने बैठकले स्थायी राजधानी र नामको विषयलाई टुंगो लगाउने गरी प्रदेशसभा सचिवालयले कार्यसूचिमा राखेको छ । आज बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूचिको अन्तिम टुंगो लगाउने जनाइएको छ । तर पनि प्रदेश सरकारको प्राथमिकता नै स्थायी राजधानी र नाम रहेको छ ।

बैठकका लागि प्रदेशसभा सचिवालय तयारी अवस्थामा रहेको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । उनले राजधानी र नामका विषयमा हुने सबै प्रक्रियाक लागि सचिवालयले तयारी गरिसकेको बताए ।

हेटौंडा होला त राजधानी ?

नेकपा सचिवालयले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र वागमती पारित गर्न आफ्ना सांसदलाई निर्देशन दिएपछि यो विषयले व्यापकता पाएको हो । अहिले यही विषयमा नेकपा र नेपाली कांग्रेस आन्तरिक गृहकार्यमा जुटेका छन् । दुवै पार्टीका प्रदेश ३ संसदीय दलको बैठकले ठोस निर्णय गर्न सकेको छैन । कांग्रेसले पनि ठोस निर्णय गर्न सकेको छैन । नेकपा प्रदेश ३ संसदीय दलको ३ दिन बसेको बैठकले पनि ठोस निर्णय नगर्दा अन्यौलता देखिएको छ ।

तर नेकपा भित्रका बहुमत सदस्यले पार्टीको निर्देशनलाई मान्ने मत बैठकमा व्यक्त गरेका छन् । पार्टीले मतदानको समयमा व्हिप लगाएरै भएपनि सचिवालयको निर्णय अनुसार प्रदेशसभाबाट हेटौंडा र वागमती पारित गराउने तयारीमा नेकपा रहेको छ ।

कांग्रेस प्रदेश ३ को संसदीय दलको बैठक आज हेटौंडामा बस्ने जनाइएको छ । उक्त बैठकले राजधानी र नामको विषयमा ठोस निर्णय गर्ने संसदीय दलका नेता इन्द्र बानियाँले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*