‘स्थायी राजधानी हेटौंडा नै हुन्छ, निर्देशन नमान्नेहरु सकिन्छन्’

बाइलाइन नेपाल
१९ पुष २०७६, शनिबार २१:५७

हेटौंडा । दुई दिन देखि नेकपा प्रदेश ३ को संसदीय दलको बैठकमा स्थायी राजधानी र नामको विषयमा घनिभूत छलफल भइरहेको छ । आज (आइतबार) पनि बैठक बस्दैछ । दुई दिनसम्म बैठकमा मत राखेका सांसदले स्थायी राजधानी हेटौंडा नै हुनुपर्ने बताएका छन् ।

पार्टीले प्रदेशसभाको अधिकार हस्तक्षेप नगरेको भन्दै सांसदहरुले सचिवालयको निर्णयलाई बचाउ गरेका छन् । केही सांसदले पार्टीले प्रक्रियालाई मिचेको बताएपनि निर्देशनलाई कार्यान्वयन गर्ने उल्लेख गरेका छन् । दलिय परम्परा कायम रहेको स्थानमा पार्टीले धारणा बनाउनु स्वभाविक प्रक्रिया भएको सांसदहरुको भनाइ छ । उनिहरुले प्रदेशसभामा रहेका सांसदमै एकमत र आपसी सदभाव नभएपछि पार्टीले धराणा बनाउनुको विकल्प नभएको सांसदहरुले बैठकमा भनाइ राखेका छन् ।

पार्टीले बनाएको धारणा तथा गाइडलाईनलाई गलत रुपमा व्याख्या गर्ने काम भइरहेको भन्दै सांसदहरुले बैठकमा आपत्ती समेत जनाएका छन् । सचिवालयले बनाएको धारणा दलिय व्यवस्थामा जायज रहेको तर्क उनिहरुको छ । पार्टीले आफ्नो धारणा बनाएर आफ्ना सांसदहरुलाई कार्यान्वयनका लागि भन्न समेत नपाउने भन्नु उपयुक्त नभएको बताएका छन् । उनिहरुले पार्टीको धारणालाई गलत व्याख्या नगर्न समेत चेतावनी दिएका छन् ।

सांसद दीपक निरौलाले पार्टीको निर्देशन सबै सांसदले मान्नुपर्ने बताए । उनले भने–‘सचिवालयले प्रदेशसभाको अधिकार माथि हस्तक्षेप गरेर राजधानी र नाम नै जारी गरेको होइन् । सभाबाटै यो सबै पारित हुन्छ । तर आफ्ना सांसदलाई पार्टीको धाराणा अनुसार मत प्रयोग गर्नु भनेको हो । यसलाई आपत्तीको रुपमा लिनुपर्ने कुनै कारण छैन ।’

त्यही पार्टीबाट निर्वाचन जित्ने अनि पार्टीले धारणा समेत बनाउन नपाउने भन्ने तर्क सही नभएको उल्लेख गर्दै निरौलाले भने–निर्देशन सबैले मान्नुपर्छ, पार्टीको धारणा भन्दा बाहिर कोही जान मिल्दैन र राजधानी हेटौंडा, नाम वागमती हुन्छ । अब अर्को विकल्प छैन । त्यता नलागौं ।’

पार्टीले व्हिप लगाएर भएपनि सचिवालयको निर्णयलाई कार्यानवयन गराउनुपर्ने उनको तर्क छ । संविधानमा व्हिप लगाउन नपाउने भन्ने नभएको उल्लेख गर्दै उनले पार्टीको निर्देशन विपरित कोही जान नसक्ने बताए ।

यस्तै सांसद लेखनाथ ढकालले पार्टी नेतृत्वले सुझबुझपूर्ण तरिकाबाट राजधानीको विषयमा सुझाव दिएकाले त्यसैलाई कार्यान्वयन गर्नुपर्ने बताए । उनले विरोधका लागि विरोध गरेर केही नहुने भन्दै पार्टी नेतृत्वले दिएको गाइडलाइन अनुसार नै प्रदेशसभाबाट पारित हुने जानकारी दिए ।

‘कम्युनिष्ट पार्टीमा पार्टीले दिएको निर्देशको अवज्ञा हुँदैन, जसले गर्छ उ सिधिन्छ । त्यसैले पार्टीको निर्देशन नमान्नेहरुले पहिला संसदबाट राजीनामा दिनुपर्छ । फरक मत राख्नेले पहिला राजीनामा दिनुको विकल्प छैन’,– ढकालले भने । दलिय व्यवस्थामा दलकै अधिनस्त हुन्छ भन्ने कुरालाई सबैले बुझ्नु पर्ने उनको भनाइ छ । उनले सचिवालयले बनाएको राजधानी हेटौंडा र नाम वागमती गाइडलाईन अनुसार नै सभाबाट पारित हुने बताए ।

अर्का सांसद विनोद खड्काले संसदीय दल, पार्टीका अन्य कमिटीबाट समस्याको समाधान नहुने भएपछि सचिवालयले राजधानी र नाममा एउटा धारणा बनाएको बताए । ‘नेकपा भित्र समस्या नभएको भए दुई तिहाइ बहुुमत भएको प्रदेश ३ मा राजधानी र नाम दुई वर्षसम्म टुंगो नलगाउने भन्ने हुँदैन थियो । हामीमा समस्या भएकाले शिर्ष तहबाट निर्देशन आएको छ । अब त्यसलाई कार्र्यान्वयन गर्नु सबै सांसदको दायित्व हो,‘–सांसद खड्काले भने ।

पार्टीको निर्देशन मान्दै अब दुई तिहाइ मतसहित हेटौंडालाई राजधानी र नाम वागमती पारित गर्दै स्थायी मानसिकतामा काममा लाग्नुपर्ने सांसद खड्काले बताए । पार्टीले गरेको निर्णय नै अन्तिम निर्णय हुने र सांसदहरुले यसैअनुरुप सहमति जनाउने प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*