हेटौंडा स्थायी राजधानी बनाउने विषयमा नेकपामा सहमति जुट्ला ?

बाइलाइन नेपाल
१९ पुष २०७६, शनिबार ०६:४६

हेटौंडा । नेकपा प्रदेश ३ को संसदीय दलको बैठक आज (शनिबार) पनि बस्ने भएको छ । शुक्रबार सुरु भएको बैठकले आज पनि निरन्तरता पाएको हो ।

नेकपा सचिवालयले राजधानी र नामको विषयमा गरेको निर्णय र निर्देशन कार्यान्वयनका लागि सहमति जुटाउन बैठकले बसिरहेको छ । आज बिहान ११ बजेबाट मुख्यमन्त्री निवासमा फेरि सुरु हुने जनाइएको छ ।

बैठकमा शुक्रबार बैठकमा १७ जना प्रदेशसभा सदस्यले राजधानी र नामका विषयमा आफ्नो मत राखेका थिए । बोल्नका लागि २४ जनाले नाम टिपाएको जनाइएको छ । आज प्रदेशसभा सदस्यको मत सुनेपछि नेतृत्वले बोल्ने र सहमति गरिने एक सदस्यले बताए ।

शुक्रबारको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणि पौडेलले ऐजेण्डाका बारेमा जानकारी गराएका थिए । बैठकमा ऐजेण्डाका बारेमा जानकारी दिंदै मुख्यमन्त्री पौडेलले पार्टीको सचिवालयले गरेको निर्णय अनुसार प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम वागमती कायम गर्न सबै एकजुट हुनुपर्ने बताए थिए । उनले दुई वर्ष देखि चर्चामै सिमित भएको विषयलाई यही पुस २२ गतेसम्ममा सर्वसहमत रुपमा पारित गर्नुपर्ने उल्लेख गरे ।

सचिवालयले हेटौंडा राजधानी र नाम वागमती राख्ने निर्णय गरेपछि तीन महिनाभन्दा बढी समयदेखि सञ्चालनमा नरहेको प्रदेशसभा बैठक यही पुस २१ गतेलाई बोलाइएको छ । २१ गते सभामा पेश गर्ने र २२ गते स्थायी राजधानी र नाम पारित गर्ने प्रदेश सरकारको तयारी रहेको छ । जसका लागि अहिले नेकपाका प्रदेश ३ का सांसदलाई सहतिमा ल्याउने प्रयास भइरहेको छ ।

बैठकमा प्रदेशसभा सदस्य समेत रहकी प्रदेश ३ की इन्चार्ज अष्टलक्ष्मी शाक्य, सह इन्चार्ज हितबहादुर तामाङ र हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाललगायतकाको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*