आज नेकपा र कांग्रेसको संसदीय दलको बैठक बस्दै, ऐजेण्डा स्थायी राजधानी

बाइलाइन नेपाल
१७ पुष २०७६, बिहीबार २०:१५

हेटौंडा । नेकपा सचिवालय बैठकले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम वागमती राख्ने निर्णय भएपछि अहिले यसविषयमा व्यापक वहस भइरहेको छ ।

नेकपा सचिवालयले राजधानी र नामको विषयमा निर्णय गर्दै पार्टीको प्रदेश कमिटीलाई निर्णय कार्यान्वयन गर्न निर्देशन दिएपछि प्रदेश ३ सरकारले यही पुस २१ गतेलाई प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरिसकेको छ । सचिवालयको निर्णय प्रदेशसभाबाट पारित गर्न बैठक आव्हान भएपनि नेकपा भित्रैको विरोधले सकस देखिएको छ ।

पुस २१ गते प्रदेशसभा बैठक बस्ने भएपछि प्रदेश ३ का नेकपा र नेपाली कांग्रेसले आज पुस १८ गते संसदीय दलको बैठक बोलाएका छन् । दुवै पार्टीले राजधानी र नामको विषयलाई मुख्य एजेण्डा बनाएर बैठक बोलाएका हुन् ।

नेकपा प्रदेश ३ को संसदीय दलको बैठक आज दिउँसो २ बजेलाई बोलाएको छ । हेटौंडामा मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बैठक बस्ने स्रोतले जनाएको छ । बैठकका लागि आजैबाट संसदीय समितिका सदस्यहरु हेटौंडा आउने क्रम सुरु भएको छ ।

बैठकको मुख्य एजेण्डा स्थायी राजधानी र नाम रहेको प्रदेशसभा सदस्य विशाल खड्काले जानकारी दिए । संसदीय दलको बैठकमा हेटौंडा स्थायी राजधानीका विषयमा भने सहमति जुट्न सक्ने अवस्था नरहेको जनाइएको छ । पार्टी प्रदेश ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यसहितका बहुमत सदस्य सचिवालयको निर्णयको विपक्षमा रहेका छन् ।

यसैगरी, नेपाली कांग्रेस प्रदेश ३ को संसदीय दलको बैठक पनि आज दिउँसो साढे दुई बजे काठमाडौंमा बस्ने संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले जानकारी दिए । उनले बैठकको मुख्य ऐजेण्डा स्थायी राजधानी र नामको विषयमा रहेको बताए । त्यस बाहेक अब सुरु हुने हिउँदे अधिवेशनका विषयमा पनि बैठकमा व्यापक छलफल हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*