नेकपा प्रदेश कमिटीलाई नेतृत्वको निर्देशनः हचुवामा हेटौँडा निर्णय भएको होइन, कार्यान्वयन गर्नुस्

बाइलाइन नेपाल
१७ पुष २०७६, बिहीबार ०८:०५

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले हेटौँडा राजधानी कायम गर्ने सचिवालयको निर्णय कार्यान्वयन गर्न प्रदेश पदाधिकारीलाई निर्देशन दिएका छन् । केन्द्रले सबै पक्षलाई ध्यान दिएरै रणनीतिक महत्व राख्ने हेटौँडालाई नै प्रदेश ३ को मुकाम कायम गर्ने निर्णय गरेकाले संसदीय दलमार्फत निर्णय कार्यान्वयन गराउन ओली–प्रचण्डले निर्देशन दिएका हुन् ।

गत आइतबारको सचिवालय बैठकले ३ नम्बरको राजधानी हेटौँडा राख्ने र बागमती प्रदेश नामांकन गर्ने निर्णय कार्यान्वयनका लागि प्रदेशको पार्टी नेतृत्व र प्रदेश सभा संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो । निर्णय जानकारी गराएर कार्यान्वयनका लागि निर्देशन दिने उद्देश्यले प्रदेश पदाधिकारीलाई दुवै अध्यक्षले मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएका थिए । छलफलका लागि बालुवाटार पुगेका प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज हितमान शाक्य, अध्यक्ष नारायण दाहाल र सचिव आनन्दप्रसाद पोखरेलसँग ओली र प्रचण्डले करिब साढे दुई घन्टा छलफल गरेका थिए ।

‘सचिवालयको निर्णयको औपचारिक जानकारी र कार्यान्वयनका लागि अध्यक्षद्वयले बालुवाटारमा बोलाउनुभएको हो,’ प्रदेश अध्यक्ष दाहालले ओली र प्रचण्डलाई उद्धृत गर्दै नयाँ पत्रिकासँग भने, ‘बढ्दो जनघनत्व, वातावरणीय प्रभावदेखि सबै हिसाबले केन्द्रीय राजधानी काठमाडौंलाई सुरक्षित गर्दै सेवा–सुविधामा सहज पहुँच स्थापित गर्न हेटौँडाको रणनीतिक महत्व छ, हामीले हचुवाको भरमा निर्णय गरेका होइनाैँ, त्यसैले सचिवालयको निर्णय प्रदेश कमिटीले यथाशीघ्र कार्यान्वयनका लागि पहल लिनुस् ।’

संसदीय दलको बैठक बोलाउने तयारी
पार्टी नेतृत्वले हेटौँडा राजधानी तोकेपछि ३ नम्बर प्रदेश सभाका थुप्रै सांसदहरू असन्तुष्ट छन् । उनीहरूले प्रदेश सभाको अधिकार क्षेत्रमाथि हस्तक्षेप गर्दै नेतृत्वको निर्देशन अवज्ञा गर्ने चेतावनी दिँदै आएका छन् । तर, नेकपाको प्रदेश नेतृत्वले भने छिट्टै प्रदेश सभा संसदीय दलको बैठक बोलाएर असन्तुष्टि सम्बोधन गर्ने र नेतृत्वको निर्देशनका लागि पहल बढाउने भएको छ । ‘अब छिट्टै संसदीय दलको बैठक बोलाएर सांसदहरूका गुनासा सम्बोधन गर्दै सबैको धारणामा एकरूपता ल्याउने प्रयास गर्छौँ,’ अध्यक्ष दाहालले भने, ‘सुरुमै भएकाले सांसदहरू तरंगित हुनु स्वाभाविक छ, तर हामी निर्णयको रणनीतिक महत्व बुझाउँछौँ, त्यसक्रममा अन्तिममा निर्णय कार्यान्वयनको निष्कर्षमा पुग्ने कुरामा विश्वस्त छौँ ।’

सभामुख निर्वाचनबारे सामान्य छलफल
ओली र प्रचण्डको मंगलबारको भेटवार्तामा सभामुख चयनबारे सामान्य छलफल गरे पनि उम्मेदवारकेन्द्रित छलफल नभएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । उम्मेदवारबारे सघन छलफल नभएपछि बुधबार बोलाइएको प्रतिनिधिसभा बैठक ओली–प्रचण्डकै सहमतिमा आगामी २७ पुससम्म स्थगित भएको छ । सभामुखमा उपसभामुख शिवमाया तुम्बाहाम्फे, पूर्वसभामुख सुवास नेम्वाङ र नेता अग्नि सापकोटा मुख्य आकांक्षी छन् ।

प्रदेश ३ इन्चार्ज अष्टलक्ष्मी शाक्यले भनिन्– तपाईंहरूको निर्णय लागू गर्न म सक्दिनँ
सचिवालयका नौजना नेता नौतिर फर्किएको अवस्था नदेखियोस् भनेर समझदारी गर्ने कुरा एउटा होला, तपाईंहरू आदेश दिने तहमा नपुगेको भए हुन्थ्यो । यसले पार्टीलाई नोक्सान गर्छ ।

विगतमा सबै निर्णय मानेको पनि हो र कार्यान्वयन पनि गरेको छु । यसपालि तपाईंहरूको निर्णय मान्न गाह्रो भो, मन प्रफुल्ल भएन । माफ गर्नुहोला, निर्णय लागू गर्न सक्दिनँ ।  साभारः नयाँ पत्रिका दैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*