प्रदेश ३ को राजधानी र नामको विषयमा यस्तो छ रोचक कुरा

बाइलाइन नेपाल
१३ पुष २०७६, आईतवार २०:४५
फाइल तस्वीर

हेटौंडा । नेकपाको आइतबार बसेको सचिवालय बैठकले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम वागमती राख्ने निर्णय गरेसँगै यसको समर्थन र विरोध भइरहेका छन् । नेकपाकै सांसद तथा केही जिल्ला कमिटीले पनि राजधानी र नामको विषयमा विरोध गरिरहेका छन् ।

पार्टीको सचिवालयले निर्णय गरेकाले विरोध गर्नेहरुले पनि विरोधका लागि मात्र गरेको जस्तो देखिन्छ । सचिवालयको निर्णय र आदेश विपरीत नेकपाका सांसद प्रदेशसभामा प्रस्तुत हुने अवस्था कमै मात्र रहेको छ । त्यसैले अब हेटौंडा राजधानी र वागमती प्रदेश ३ को नाम रहने कुरामा दुई मत छैन ।

प्रदेशको स्थायी राजधानी र नामका विषयमा भने रोचक कुरा रहेको छ । प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम वागमती हुनुपर्छ भनेर कुनै पनि सांसदले निवेदन तथा प्रस्ताव प्रदेशसभामा दर्ता गरएका थिएनन् । राजधानी र नामका विषयमा अन्य जिल्ला र विभिन्न नाममा प्रस्ताव र निवेदन दर्ता भएका थिए ।

प्रस्ताव दर्ता भएका जिल्लामा राजधानी रहने भने नाम पनि निवेदन परेको भन्दा फरक रहन गएको छ । प्रदेशसभामा चितवन, भक्तपुर, काभ्रे, रसुवा र नुवाकोटका सांसदले आफ्नो जिल्लामा राजधानी हुनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका थिए । तर अन्तमा नेकपाको सचिवालयले अस्थायी राजधानी हेटौंडालाई नै स्थायी बनाउने निर्णय गर्यो ।

यस्तै प्रदेश ३ को नाम यस्तो हुनुपर्ने भन्दै सांसदहरुले प्रदेशसभामा निवेदन दिएका थिए । २०७६ वैशाख ३१ गते सांसद विशाल खड्काले गौरिशंकर प्रदेशको नाम राख्नु पर्ने भन्दै निवेदन दर्ता गराएका थिए । २०७६ जेठ ७ गते सांसद ओमबहादुर ग्लान र प्रतिमा श्रेष्ठले नवाः–ताम्सालिङ राख्नुपर्ने माग गर्दै निवेदन दर्ता गरेको सचिवालयले जनाएको छ । त्यस्तै २०७६ जेठ १७ गते अजयक्रान्ति शाक्य र वसन्त मान्नधरले नेपाल मण्डल हुनुपर्ने भन्दै निवोदन दर्ता गराएको जनाइएको छ ।

प्रदेशको नाममा पनि राजधानी जस्तै निवेदन नै दर्ता नभएको वागमती कायम हुने भएको छ । राजधानी र नाम दुवै नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा मुख्यमन्त्री डोरमणि पौडेलले टुंगो लगाएको र सचिवालयबाट सर्वसहमत निर्णय गराएको नेकपाका एक नेताले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*