प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती एक सातामै पारित हुन्छः मुख्यमन्त्री पौडेल

बाइलाइन नेपाल
१३ पुष २०७६, आईतवार १४:१६

हेटौंडा । नेकपाको बहुमत भएपनि प्रदेश ३ को स्थायी राजधानी र नाम दुई वर्षदेखि टुंगो लाग्न सकेको थिए । आज भएको नेकपाको सचिवालय बैठकले स्थायी राजधानी हेटौंडा र नाम वागमती कायम गर्ने निर्णय गरेसँगै प्रदेश ३ ले स्थायी नाम र राजधानी पाउने भएको छ।

पार्टी सचिवालयले नाम र राजधानीबारे निर्णय गरेको जानकारी आफूले पाएको मुख्यमन्त्री पौडेलले बताए। नेकपाको सचिवालयले स्थायी राजधानी र नामको विषयलाई निर्णय गरेपछि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पुस २० गतेभित्रै नाम र राजधानी टुंगो लाग्ने प्रतिक्रिया दिएका छन् ।

‘नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय भएको जानकारी पाए ,’ पौडेलले भने, ‘पार्टीले मात्रै निर्यण गरेर पुग्दैन। प्रदेशसभा बैठकले यसलाई वैधानिकता दिनुपर्छ।’ पौडेलका अनुसार अबको एक साताभित्र प्रदेशको नाम र राजधानी टुंगो लगाइने छ।

‘पुस २० गते अघि नै संसद बस्छ। संसदबाटै नाम र राजधानी टुंगो लगाउँछौं,’ उनले भने, ‘अब ढिला हुँदैन।’

प्रदेश ३ मा नेकपाको २ तिहाइ नेतृत्वको सरकार छ। १ सय १० सदस्यीय प्रतिनिधि सभामा नेकपाका ८० कांग्रेसका २२ र अन्य दलका ८ जना सांसद छन्।

शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ सालमा निर्वाचनअघि प्रदेशको केन्द्र तोकेको थियो। त्यसबेला प्रदेशको अस्थायी राजधानी हेटौंडा तोकिएको थियो। प्रदेश राजधानी एकछेउमा भएको र अरू जिल्लालाई पायक पर्ने ठाउँमा नभएको भन्दै सार्ने चर्चा चले पनि नेकपाले हेटौंडा नै उपर्युक्त हुने निष्कर्ष निकालेको हो।

सुदुरपश्चिम, कर्णाली, गण्डकी प्रदेशले नाम र राजधानी टुंगो लगाइसकेका छन्। प्रदेश १, २, ३ र ५ ले भने राजधानी र नाम टुंगो लगाउन सकेका छैनन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*