प्रदेश ३ सरकारको नयाँ योजनाः उच्च शिक्षाका लागि छोरी–बुहारीलाई छात्रवृृत्ति

बाइलाइन नेपाल
१२ पुष २०७६, शनिबार ०८:५३

शिक्षा क्षेत्रमा प्रदेश ३ सरकारले नयाँ योजना अघि सारेको छ । सामाजिक विकास मन्त्रालयले उच्च शिक्षा पढ्न छोरी–बुहारीलाई छात्रवृत्ति दिने नयाँ योजना अघि सारेको हो । चालू आर्थिक वर्ष ०७६/७७ मा बजेट विनियोजन गरी छोरी–बुहारीलाई उच्च शिक्षा पढ्न छात्रवृत्ति उपलब्ध गराउन शिक्षा विकास निर्देशनालयलाई जिम्मा दिइएको मन्त्रालयले जनाएको छ । निर्देशनालयले सूचना जारी गरेर छात्रवृत्तिका लागि २५ पुसभित्र आवेदन आह्वान गरेको छ ।

प्रदेश ३ भित्र बसोबास गरेर स्नातक र स्नातकोत्तर पढिरहेका छोरी र बुहारीहरूलाई छात्रवृत्ति दिइने निर्देशनालयका कामु निर्देशक चन्द्रप्रसाद लुइँटेलले जानकारी दिए । ‘प्रदेश ३ भित्र स्थायी बसोबास गरिरहेका छोरी वा यहाँ विवाह गरी आएका बुहारीलाई प्रमाणित प्रतिलिपिसहित आवेदन दिन आह्वान गरिएको छ,’ उनले भने ।

निर्देशनालयले प्राथमिकतामा राखेका छोरी–बुहारीले प्रमाणित प्रतिलिपि, क्याम्पसमा तिरेको रकमको रसिद र क्याम्पसले तोकेको शुल्कको किटानीपत्र अनिवार्य बुझाउनुपर्ने मापदण्ड बनाएको छ । बुहारीहरूको हकमा आवेदनसँगै श्रीमान्को नागरिकताको प्रतिलिपिसमेत बुझाउनुपर्ने निर्देशनालयका कामु निर्देशक लुइँटेलले बताए ।
विद्यालयस्तर वा प्रमाणपत्र तह उत्तीर्णपछि पढाइ छोड्ने महिलाको संख्या धेरै रहेको जानकारी दिँदै उनले छोरी–बुहारीलाई उच्च शिक्षा हासिल गर्न सहज होस् भन्ने उद्देश्यका साथ चालू आवबाट यो योजना सुरु गरिएको बताए ।

सामाजिक विकास मन्त्रालयले विनियोजन गरेको बजेटमा शिक्षा विकास निर्देशनालयले चार सय छोरी–बुहारीका लागि एक करोड छात्रवृत्ति वितरण गर्ने जनाएको छ ।निर्देशनालयका अनुसार छात्रवृत्ति प्रदानका लागि पाँच किसिमका तह र विषय छुट्याइएको छ । जसमा स्नातकोत्तरतर्फ प्राविधिक तथा व्यावसायिक शिक्षामा पाँचजनालाई एक लाख ७६ हजारका दरले, स्नातकोत्तर विज्ञानमा १० जनालाई ५२ हजारका दरले, विज्ञानबाहेक अन्य विषयमा सयजनालाई २५ हजारका दरले छात्रवृत्ति उपलब्ध गराइनेछ ।

त्यस्तै, स्नातक विज्ञानमा २० जनालाई ४० हजारका दरले र विज्ञानबाहेक अन्य विषयमा दुई सय ६५ जनालाई २० हजारका दरले छात्रवृत्ति उपलब्ध गराइने निर्देशनालयले जनाएको छ । नयाँ पत्रिकाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*