जब ८४ वर्षीया वृद्धा सम्वन्ध बिच्छेदका लागि अदालतमा पुगिन…

बाइलाइन नेपाल
२ पुष २०७६, बुधबार ०९:२३

मकवानपुरको भीमफेदी गाउँपालिका–५ की ८४ वर्षीया टीकाकुमारी पाख्रिन सम्बन्धविच्छेदको निवेदन लिएर जिल्ला अदालत पुग्दा कर्मचारीहरू नै छक्क परे । किनकि जिल्लामा सबैभन्दा बढी उमेरकी वृद्धाले निवेदन लिएर आएको यो नै पहिलो घटना थियो ।

‘अदालतमा सम्बन्धविच्छेदका मुद्दा धेरै छन्,’ स्रेस्तेदार केशवराज कौशिक भन्छन्, ‘चारबीस पार गरिसकेकी वृद्धाले सम्बन्धविच्छेदको माग गरेको यो नै पहिलो घटना भयो ।’ ७० वर्षीय श्रीमान् बुद्धबहादुर रुम्बासँग अंशसहित सम्बन्धविच्छेदको माग गर्दै उनी लौरोको सहारामा गत मंसिर २५ गते अदालत पुगेकी थिइन् । उनका पाँच छोरा र एक छोरी छन् । विवाह भइसकेका उनीहरू अलग छन् । श्रीमान्ले १९ वर्षअघि कान्छी भित्र्याए पनि टीकाकुमारी सहज रूपमै बसिरहेकी थिइन् । तर, पछिल्लो समय श्रीमान्ले कुटपिट गर्ने गरेको उनको भनाइ छ । ‘माया गर्ने बेलामा हेला गर्न थालेपछि को सँगै बस्छ ?’ उनले भनिन् ।

मकवानपुर जिल्ला अदालतमा चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिरसम्म) मा सम्बन्धविच्छेदका तीन सय २० वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये एक सय ४६ वटा पुरुषबाट आएका हुन् । कुल मुद्दामध्ये एक सय ७२ वटा फर्स्यौट भइसकेको स्रेस्तेदार कौशिकले बताए । ०७५ भदौ १ गतेदेखि नयाँ संहिता कार्यान्वयनमा आएपछि सम्बन्धविच्छेदका लागि पुरुषलाई सहज भएको छ । यो व्यवस्थापछि मकवानपुरमा सम्बन्धविच्छेद गर्न कानुनी उपचार खोज्दै अदालतको ढोका ढकढक्याउने पुरुषको संख्या महिलाको हाराहारीमै छ । ‘महिलाले दिएको उजुरीमा मेलमिलापमार्फत पुरुषसँग छिट्टै सहमति जुटाउन सकिने भएकाले फैसला चाँडै हुने गरेको छ,’ स्रेस्तेदार कौशिकले भने, ‘पुरुषले दिएको उजुरीमा महिलाको सहमति नहुँदा फैसला हुन समय लागेको हो ।’

मेलमिलापमार्फत सहमति हुन नसकेमा मुद्दा फैसला गर्न कम्तीमा एक वर्ष कुर्नुपर्ने कानुनी व्यवस्था छ । नयाँ देवानी संहिताको भाग ३ (परिच्छेद ३) मा सम्बन्ध विच्छेदसम्बन्धी व्यवस्था छ । त्यसमा महिलासरह पुरुषका लागि पनि व्यवस्था राखिएका छन् । लगातार तीन वर्ष बेखबर रहेमा, अंगभंग हुने गरी कुटपिट गरेमा, शारीरिक र मानसिक हिंसा गरेमा श्रीमतीविरुद्ध पनि अदालत जान सक्ने व्यवस्था छ । ‘समानताका नाममा कानुनले पुरुषको सम्बन्धविच्छेद खुकुलो बनाएको छ,’ अधिवक्ता मदन दाहालले भने, ‘यसले सम्बन्धविच्छेद गर्न चाहने पुरुषहरूको संख्या अदालतमा बढेको हो ।’ विवाह भएको वर्ष दिन नपुग्दै सम्बन्धविच्छेद गर्नेहरू पनि छन् । गत आवमा विवाह गरेको ११ महिना नपुग्दै तीन जोडीले अदालतमा सम्बन्धविच्छेदको निवेदन दर्ता गराएका थिए । ‘सम्बन्धविच्छेदलाई महिला–पुरुष दुवैको हकमा खुकुलो बनाउँदा सामाजिक र पारिवारिक सम्बन्धमा असर पर्ने र छोराछोरीको भविष्य अन्धकारमय बन्ने देखिन्छ,’ अदालतका एक कर्मचारीले भने, ‘नयाँ संहिताले समाजलाई थप विखण्डनतर्फ लैजान्छ कि जस्तो लाग्छ ।’ नयाँ संहिता कार्यान्वयनमा आएपछि गत वर्ष जिल्ला अदालत मकवानपुरमा ६५ वर्ष पार गरिसकेका दुई वृद्धले पनि निवदेन दर्ता गराएका थिए ।

एमिकस क्युरीको माग
जिल्ला अदालत मकवानपुरले एक चोरी मुद्दामा एमिकस क्युरी (अदालतका सहयोगी कानुन व्यवसायी) को आवश्यकता महसुस गरेर जिल्ला बार एसोसिएसनलाई पत्राचार गरेको छ । अदालतले एमिकस क्युरी आवश्यकता महसुस गरेको यो पहिलो हो । हेटौंडा उपमहानगरपालिका–१० टीसीएनस्थित एआरआई सप्लायर्समा तीनजनाले चोरी गरेका थिए । चोरी भएका सामानको मूल्य एक हजार नौ सय ५० रुपैयाँ रहे पनि अभियोजनपक्षले पाँच वर्षदेखि १० वर्ष कैदको माग गर्दै अदालतमा मुद्दा दर्ता गराएको छ । मुद्दा सुनुवाइ क्रममा जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको सोमबार बसेको इजलासले जिल्ला बार एसोसिएसनलाई फौजदारी न्यायमा विशेष अध्ययन भएका तीन कानुन व्यवसायी पठाउन आदेश गरेको छ । साभार कान्तिपुर दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*