प्रदेश ३ को प्रदेशसभा बैठक तीन महिनादेखि ठप्प

बाइलाइन नेपाल
२३ मंसिर २०७६, सोमबार ०९:११

हेटौंडा । तीन महिनाअघि स्थगित भएको प्रदेश ३ सभा बैठक सञ्चालन सम्बन्धमा छलफलसमेत हुन सकेको छैन । सार्वजनिक निजी सहकारी साझेदारी सम्बन्धमा बनेको विधेयक पारित गरेर २५ भदौमा बैठक स्थगित भएको थियो । सभामुख सानुकुमार श्रेष्ठले सरकारले बिजनेस नदिएका कारण बैठक अनिश्चित भएको दाबी गरे ।

पछिल्लो बैठक स्थगित भएपछि सरकारले हालसम्म एउटा पनि विधेयक प्रदेश सभामा दर्ता नगरेका कारण मिति तोक्न समस्या भएको उनको तर्क छ । ‘प्रदेश सभा स्थगित भएको तीन महिना भइसक्यो,’ उनले भने, ‘यो अवधिमा सरकारले एउटा विधेयक पनि प्रदेश सभामा दर्ता गरेको छैन, बिजनेस नभएको अवस्थामा बैठक सुचारु गर्न सकिँदैन ।’

सरकारले विधेयक दर्ता गरेपछि कार्य व्यवस्था परामर्श समितिमा छलफल गरेर बैठक सुचारु गरिने उनको भनाइ छ । सभामा दर्ता भएका सबै विधेयक पारित भइसकेकाले नयाँ विधेयक आउनुपर्ने उनको धारणा छ । प्रदेशको नाम र राजधानीको विषय पेचिलो बन्दै गएको अवस्थामा बैठकको टुंगो नलाग्दा सत्तापक्षकै सांसदले समेत विरोध जनाइरहेका छन् ।

१९ महिनामा एक सय २७ बैठक
१९ महिनामा प्रदेश ३ सभामा एक सय २७ वटा बैठक भएका छन् । प्रदेश सभा सचिवालयले प्रकाशित गरेको प्रदेश सभा दर्पणको तेस्रो अंकमा १८ माघ ०७४ देखि २५ भदौ ०७६ सम्म एक सय २७ बैठक भएको उल्लेख छ । प्रदेश सभाको चौथो अधिवेशन चलिरहेको छ । सचिवालयका अनुसार १८ माघ ०७४ देखि १४ वैशाख ०७५ सम्म पहिलो अधिवेशनमा १९ वटा बैठक भएका छन् ।

१ जेठ ०७५ देखि १२ पुस ०७५ सम्म दोस्रो अधिवेशनमा ६१, १७ चैत ०७५ देखि ५ वैशाख ०७६ सम्म तेस्रो अधिवेशनमा ९ र ३० वैशाख ०७६ देखि २५ भदौसम्म चौथो अधिवेशनमा ३८ बैठक भएका छन् । प्रदेश सभामा दर्ता भएका ४५ विधेयकमध्ये ४४ वटा प्रमाणीकरण भएको सचिवालयले जानकारी दिएको छ । नयाँ पत्रिका दैनिकमा सुदीप शिवाकोटीले लेखेको समाचार साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*