चित्लाङ–थानकोट सडक निर्माणमा ढिलाइ भएपछि चित्लाङबासी आन्दोलित

बाइलाइन नेपाल
२२ मंसिर २०७६, आईतवार १८:००

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकालाई छोटो दुरीमा काठमाडौंसँग जोड्ने चित्लाङ–थानकोट सडक (गणेश मान सिंह मार्ग) निर्माणमा ठेकेदार कम्पनीले निरन्तर लापरबाही गरेको भन्दै स्थानीयले आइतबार बिरोध गरेका छन् ।

चित्लाङबासीले आइतबार निर्माणधिन सडकमै पुगेर विरोध जनाएका हुन् । त्यसै थन्किएर बसेको जेसीबीमा स्थानीयहरुले बिभिन्न माग लेखिएको प्लेकार्ड टाँसेर फर्केका छन् । सडक निर्माणमा भइरहेको ढिलासुस्तीको कारण सार्वजनिक गरियोस्, थाहानगरबासीले भोगिरहेको दुःखलाई सामान्य रुपमा नलिइयोस्, सडक निर्माण नगर्ने हो भने बाटोको ट्र्याक खोलेर बाटो सुचारु गरियोस् लगायतको माग रहेको प्लेकार्ड उनीहरुले थन्किएका जेसीबीमा टाँसेर विरोध जनाएका हुन् । स्थानीयको मागलाई तत्काल सम्बोधन नगरिए कडा संघर्ष गर्ने चेतावनी समेत दिएका छन् ।

सडक बनाउनुको साटो उल्टै निर्माण कम्पनीले देउराली डाँडादेखि राम्चेसम्मको सडकखण्ड भत्काएर अलपत्र छोडेको स्थानीय शिक्षक राजेन्द्र बलामीले गुनासो गरे । ‘सवारी साधन त परको कुरा पैदल यात्रा गर्न सक्ने समेत अवस्था छैन,’ बलामीले भने, ‘सडक नबनाउने नै भए ट्रयाक खोलेर आउजाउ गर्न सक्ने बनाइदिनुपर्छ । न सडक बनाउँछन्, न आउजाउ गर्न सक्ने वातावरण, कतिदिनसम्म लापरबाही सहने ?’

शनिबार मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माण स्थलको निरीक्षणका क्रममा पुगेका थाहा नगरपालिका प्रमुख लवशेर विष्टलाई समेत स्थानीयले सडक निर्माणमा ठेकेदार पक्षबाट भइरहेको लापरबाहीका बारेमा ध्यानाकर्षण गराएका थिए । गत जेठदेखि नै सडक निर्माणका लागि थाहानगरबासीले दबाव दिँदै आइरहेका छन् ।

 

ठेकेदार कम्पनीले निरन्तर लापरबाही गरेका कारण यो सडकखण्डको काम अघि बढ्न सकेको छैन । पर्यटकीय गाउँ मकवानपुर थाहानगरपालिका–९ चित्लाङलाई राजधानी काठमाडौंसँग जोड्ने सडक निर्माणमा पिएसरकिराँतेश्वर जेभी कम्पनीले लापरबाही गर्दै आएको स्थानीयको आरोप छ ।

सडक बनाउन भनी आवागमन बन्द गराएपनि कम्पनीले तदारुकताका साथ काम गरिरहेको छैन । यसअघि स्थानीयको दबावपछि चाडपर्व सकिए लगत्तै तीव्र गतिमा काम गरेर मंसिर मसान्तसम्म काम सक्ने आश्वासन निर्माण कम्पनीले दिएको थियो । त्यसबारे लिखित सहमति पत्रमै हस्ताक्षर समेत भएको छ ।

तर कम्पनीले देउराली डाँडादेखि राम्चेसम्मको सडकखण्ड भत्काएर अलपत्र छोडेको छ । त्यसखण्डमा बाटो बनाउने काम भईरहेको छैन । सवारी साधन त परको कुरा पैदल यात्रुलाई समेत आवतजावतमा समस्या छ ।

निर्माण स्थलमा मेशिन राख्ने तर काम भने नगर्ने प्रवृत्ति देखिएको गुनासो स्थानीय बासिन्दाले गर्दै आएका छन् । कात्तिक महिनामा ६ वटा मेशिन राखेपनि काम सुरु गरिएको थिएन् ।

स्थानीयले विरोध जनाएपछि १५ दिन काम गरेको र फेरि मेशिन थन्क्याएर राखिसकेको छ । बाटो निर्माण सम्पन्न नहुँदा चित्लाङ र आसपासका गाउँमा उत्पादित तरकारी निर्यात गर्न, सर्वसाधरणलाई राजधानी आउन जान र चित्लाङ घुम्न जाने पाहुनाले सास्ती भोगिरहेका छन् ।

आयोजना प्रमुख पाण्डे भन्छन् – कटिङको पैसा रोकेर राखेका छौं

गणेशमान सिंह मार्ग ९थानकोट–चित्लाङ सडक० योजना प्रमुख ध्रुव नारायण पाण्डेले भने स्थानीयको दबावपछि निर्माण कम्पनीले तदारुकताका साथ काम गरिरहेको दाबी गरेका छन् । जेसीबी बिग्रिएर मर्मत गरिरहेका कारण दुई दिनदेखि काम रोकिएको उनको भनाइ छ ।

‘चट्टान क्षेत्र भएकोले काम गर्न अप्ठेरो छ, कम्पनीले चारवटा मेशिन लगाएर काम गरिरहेको छ । दुईवटा मेशिन विग्रिएकोले मर्मत भइरहेको छ, त्यसैले काम रोकिएको छ ।’ प्रमुख पाण्डेले भने, ‘ मेशिन मर्मतपछि काम सुरु गर्छौ भनेका छन्, मंसिर मसान्तमा त सम्पन्न हुन सक्दैन, दुई अढाई महिना थप लाग्छ ।’

चारदिन अघि निर्माणाधिन स्थलगत निरीक्षण गरेको बताउँदै प्रमुख पाण्डेले ९ सय मिटरको मात्रै काम बाँकी रहेको बताए । ‘वैकल्पिक बाटो नभएका कारण दशैं तिहारमा सडक सुचारु गर्नुपर्‍यो, त्यसले गर्दा काममा केहि ढिलाई भएको हो ।’ पाण्डेले भने ‘ भौतिक प्रगति ६५ प्रतिशतको हाराहारीमा छ, आर्थिक प्रगति ५० प्रतिशत मात्रै छ, काम सम्पन्न गरेपछि सबै रकम एकैपटक लैजानुस् भनेर कटिङको पैसा रोकेर राखेका छौं ।’ अनलाइनखबर डटकममा सुरेश बिडारीले लेखेको समाचार साभार गरेका हौ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*