हेटौंडामा आँचलले गर्यो ६ जना स्रष्टालाई सम्मान

ध्रुव अधिकारी
२१ मंसिर २०७६, शनिबार १८:१६

हेटौंडा । मकवानपुरमा रहेर साहित्यमा क्रियाशिल आँचल साहित्य कला पुञ्जले शनिबार हेटौंडामा छ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । जिल्लामा रहेको एकमात्र नारी साहित्यकारको संस्थाले साहित्यका विभिन्न विधामा योगदान पु¥र्याउने स्रष्टालाई सम्मान गरेको हो ।

संस्थाको वार्षिकोत्सव तथा साधारणसभाको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान–२०७६ समालोचक तथा कवि डा. विन्दु शर्मालाई सम्मान गरिएको छ । उनलाई सम्मानपत्रसहित दश हजार राशी प्रदान गरिएको थियो । यो सम्मान समाजसेवी हरिवंश भेटवालले आफ्नो मातापिताको नाममा स्थापना गरेका हुन् ।

संस्थाकी संस्थापक अध्यक्ष मुना अर्यालले आफ्नो दिदी प्रतिभा धितालको नाममा स्थापना गरेको प्रतिभा धिताल छन्द पुरस्कार–२०७६ साहित्यकार प्रभा भट्टराईलाई प्रदान गरिएको छ । सम्मानपत्रसहित उनलाई नगद दश हजार प्रदान गरिएको थियो । यस्तै ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान –२०७६ बाट पत्रकार नवराज शर्मालाई प्रदान गरिएको छ । उनलाई सम्मानपत्रसहित नगद ५ हजार ५ सय ५५ प्रदान गरिएको थियो । यो सम्मान प्रकाश लम्सालले पिताको स्मृतिमा स्थापना गरेका हुन् ।

यसैगरी, टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७६ साहित्यकार ललिता दोषीलाई प्रदान गरिएको छ । उनलाई सम्मानपत्रसहित नगद ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको थियो । यो सम्मान साहित्यकार रुकु कार्कीले पिता तथा माताद्धयको नाममा स्थापना गरेकी हुन् । अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७६ साहित्यकार आरसी रिजाललाई प्रदान गरिएको छ । रिजाललाई सम्मानपत्रसहित १५ हजार रुपैयाँ प्रदान गरिएको थियो । यो सम्मान मातापिता गजाधर तिम्सिना तथा यशोधरा तिम्सनाले स्थापना गरेका हुन् ।

यस्तै, मंगलादेवि श्रेष्ठ नवप्रतिभा सम्मान हटियाको त्रिभुवन माविमा कक्षा ८ मा अध्ययनरत् इश्वर लुईटेललाई प्रदान गरिएको छ । उनलाई सम्मानपत्रसहित ३ हजार ५ सय प्रदान गरिएको थियो । यो सम्मान शिक्षासेवी देवप्रसा श्रेष्ठले माताको स्मृतिमा स्थापना गरेका हुन् ।

कार्यक्रम संस्थाकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा पुरस्कार संस्थापक, सम्मानित व्यक्ति मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधि तथा साहित्यकारको सहभागिता रहेको थियो ।

संस्थाको सातौ वार्षिकसाधारण सभाले सचिव भावना सापकोटा र कोषाध्यक्ष सुभद्रा हुमागाईंको प्रतिवेदनलाई सर्वसहमत पारित गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*