मकवानपुरको राक्सिराङ र कैलाशका भूकम्प पीडितलाई एकीकृत वस्ती निर्माण हुने

बाइलाइन नेपाल
१७ मंसिर २०७६, मंगलवार ०७:४२

हेटौंडा । मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाका भूकम्प पीडितलाई एकीकृत वस्ती निर्माण हुने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मकवानपुरको दुवै गाउँपालिकामा एकीकृत वस्ती विकासको प्रारम्भिक योजना स्विकृत गरेको छ ।

राक्सिराङ–५ को चुरिडाँडाटोलका १० भूकम्प पीडित घरधुरीले मनहरी गाउँपालिका–६ को जोगीतालमा एकीकृत वस्ती विकास गर्ने योजना बैठकबाट स्वीकृत भएको हो । त्यस्तै, कैशाल–१० को न्याम्सेढुंगा टोलका १० भूकम्प पीडित घरधुरीलाई सोही वडाको वमलटारमा एकीकृत वस्ती विकास गरिनेछ ।

बैठकले रसुवाको आमा छोदिङमो–२ को सानो हाकु टोलका ४६ विस्थापित घरधुरीलाई सोही गाउँपालिकाको पाङलिङमा प्राधिकरणको अनुदान रकमबाट जग्गा खरिद गरी ५१ घरधुरी एकीकृत वस्ती विकास गर्ने प्रारम्भिक योजना स्वीकृत गरेको छ ।

प्राधिकरणले एकीकृत वस्तीमा भौतिक पूर्वाधारका लागि अलग्गै प्रति घरधुरीका दरले रकम उपलब्ध गराउने प्राधिकरणको सूचना शाखाले जनाएको छ । प्राधिकरणले हिमाली जिल्लामा बन्ने एकीकृत वस्तीका लागि प्रति घर ५ लाख, पहाडी जिल्लामा बन्ने बस्तीका लागि प्रति घर ४ लाख र तराईका जिल्लामा बन्ने वस्तीका लागि प्रति घर ३ लाखका दरले एकमुष्ठ रकम उपलब्ध गराउँछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*