स्थायी राजधानीको विषयमा पटकपटक किन झुट बोल्छन् मुख्यमन्त्री पौडेल ?

बाइलाइन नेपाल
१२ मंसिर २०७६, बिहीबार १०:४७

हेटौंडा । मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को स्थायी राजधानी र नामका विषयमा पटकपटक झुट बोल्दै आएका छन् । पटकपटक फलानो मितिसम्ममा स्थायी राजधानी र नामको टुंगो लाग्ने बताउँदै आएका मुख्यमन्त्री पौडेलले पछिल्लो पटक बोलेको झुटले भने चर्चा कमाएको छ ।

२०७६ कात्तिक २८ गते बिहीबार आन्तरिक राजश्व विभागको आयोजनामा सिस्नुपानी नेपालले आयोजना गरेको करमैत्री यात्राको कार्यक्रमलाई हेटौंडामा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले १५ दिन भित्रमा प्रदेशले स्थायी राजधानी र नाम पाउने घोषणा गरेका थिए । उनको घोषणा पछि सबैले आन्तरिक तयारी पूरा भएर नै मुख्यमन्त्री पौडेलले गते किटान गरेर बोलेको अनुमान गरेका थिए । तर उनले भनेको १५ दिनमास्थायी राजधानी र नामको परको कुरा प्रदेशसभा बैठक समेत आव्हान गर्न सकेका छैनन् ।

करमैत्री कार्यक्रममा सिस्नुपानीका कालाकारहरुले कहिलेसम्म प्रदेश ३ र अस्थायी भन्नुपर्ने हो भन्दै व्यग्य गरेपछि मुख्यमन्त्री पौडेलले आजको मितिले १५ दिनमा स्थायी राजधानी र नामको टुंगो लाग्ने ठोकुवा गरेका थिए । पौडेलले यो पटक मात्र झुट बोलेका होइनन् । मुख्यमन्त्री भए देखि नै पटकपटक स्थायी राजधानी र नामका विषयमा हावादारी कुरा गर्ने गरेको एक प्रदेशसभा सदस्यले बताए ।

करमैत्री कार्यक्रममा पनि आन्तरिक कुनै तयारी नभएपनि उनले भाषणमा मिति तोक्नु गैरजिम्मेवारी भएको प्रदेशका एक मन्त्रीले भने । ‘उहाँलाई राजधानीका विषयमा किन हावा कुरा गर्नुपर्ने हो, हामीले थाहा पाउन सकेका छैनौ । यो विषय प्रदेशबाट टुंगो लाग्दैन । केन्द्रबाट फाइनल नभएसम्म बोल्नुको कुनै अर्थ छैन’, उनले भने । असोजको अन्तिम प्रदेशसभा बैठकमा पनि मुख्यमन्त्री पौडेलले अब राजधानी र नामको विषयलाई लिएर प्रश्न नै गर्नुनपर्ने भनेका थिए ।

१५ दिनमा ससदको बैठक समेत बोलाउने प्रक्रिया सुरु नगरेका मुख्यमन्त्रीले किन १५ दिनमा राजधानी र नाम टुंगो लाग्छ भनेर झुट बोलेका होलन भन्ने प्रश्न अहिले सर्वसाधारणले समेत गर्नथालेका छन् । संसद नै सञ्चालन नभएको अवस्थामा स्थायी राजधानी र नाम टुंगो लाग्छ भन्नु पदयी जिम्मेवारी भुलेर बोल्नुको उदाहरण भएको नेकपाका एक नेताले बताए ।

पौडेलले कतिपय सवालमा मुख्यमन्त्री हुँ भन्ने नै बिर्सिने गर्नुभएको उनले आरोप लगाए । प्रदेश ३ को संसद सञ्चालन नभएको दुई महिनाभन्दा बढी समय भइसकेको छ । दशैं अघि चौथो अधिवेशन अन्त्य गरेपनि अहिलेसम्म सरकारले संसदको अर्को अधिवेशनको मिति तय गरेको छैन ।

स्थायी राजधानी नेकपाको सचिवालयले टुंगो लगाएपछि मात्र कहाँ र नाम के हुने भन्ने विषयले किनरा पाउने जनाइएको छ । अहिले पनि सचिवालयमा रहेका बहुमतपक्षको मत हेटौंडालाई स्थायी राजधानी नबनाउनेमा रहेको स्रोतले जनाएको छ । तर नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहितका केही नेता भने हेटौंडालाई नै स्थायी राजधानी बनाउने पक्षमा रहेका छन् ।

प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले अहिलेसम्म संसद बैठक आव्हान नभएको बताए । मन्त्रीपरिषद्को बैठकले निर्णय गरेर प्रदेश प्रमुख समक्ष पठाएपछि मात्र संसद बैठक हुने उनले जानकारी दिए । अहिलेसम्म संसद बैठक सुरु गर्ने बारे केही जानकारी नआएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*