मकवानपुरमा पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाहीको तयारी

बाइलाइन नेपाल
११ मंसिर २०७६, बुधबार १०:४६

हेटौंडा । पटकपटक समय थप गर्दा पनि निर्माण पूरा नगरी पुल अलपत्र पार्ने ठेकेदार कम्पनीलाई प्रदेश ३ सरकारले कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ । मकवानपुरका विभिन्न पाँच स्थानमा निर्माण नसकिएका र तोकिएको समयभित्र सन्तोषजनक प्रगति नदेखिएका कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सरकारले अगाडि बढाएको हो ।

समय थपका लागि ती कम्पनीले निवेदन दिए पनि आफूहरूले सिफारिस नगरेको पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख पुष्कर पोखरेलले जानकारी दिए । उनका अनुसार सार्वजनिक खरिद ऐनको संशोधनपछि कामको प्रकृति हेरेर ठेकेदारलाई एक वर्ष समय थप गर्न सकिने भनिए पनि कार्यप्रगति कमजोर भएकाले समय थप नगर्ने निष्कर्षमा कार्यालय पुगेको छ ।

‘अब उनीहरूलाई कालोसूचीमा राख्नैपर्ने अवस्था देखिएकाले समय थप गर्न सक्ने अवस्था छैन,’ प्रमुख पोखरेलले भने । ठेकेदारहरूले अन्यलाई पेटी ठेक्का दिएको र सरकारबाट पाउने भुक्तानी भने आफूले बुझेर अरूलाई नदिएको बुझिएको उनले बताए ।

मकवानपुरगढी गाउँपालिकाको आमभञ्ज्याङ, हेटौंडा–९ स्थित कुखरेनी खोला, मनहरी–चैनपुर सडकको पुल, हटिया–बालबोध–गुवाबारी रोडको पुल र फापरबारी भोर्लेनी सडकको पुल अहिले अलपत्र अवस्थामा छन् । ती पुल निर्माणको जिम्मा प्रदेश सरकार मातहत आइसकेको छ ।

दुई वर्ष समय लिएर निर्माण सुरु गरिएको फापरबारी भोर्लेनी सडकको पुलको सम्झौता अवधि गत भदौमा सकिएको छ । उक्त पुलको प्रगति जम्मा ५ प्रतिशत मात्र छ । १३ करोड १८ लाख ५८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको एक सय १६ मिटर लामो पुल महावीर, शिखर, तामाकोसी जेभीले ठेक्का लिएका हुन् ।

यसैगरी, मकवानपुर गढी–५ आमभञ्ज्याङबाट ३ नम्बर वडाको कालीखोला जोड्ने एक सय २८ मिटर पक्की पुल पनि अलपत्र परेको छ । पुल निर्माणको ठेक्का लिएको नागार्जुन शंकरमाली जेभीले गत असारमै दोस्रो पटकको ठेक्का समय पनि गुजारेको छ । निर्माणको काम भने २७ प्रतिशत मात्र भएको पूर्वाधार विकास कार्यालयका प्रमुख पुष्कर पोखरलेलले बताए ।

कालीखोलाको पुल निर्माणका लागि दोस्रोपटक म्याद थप गरी ०७६ असार मसान्तसम्म तोकिए पनि एक चौथाइमात्र काम सम्पन्न भएको छ । यस्तै, नागार्जुन शंकरमाली जेभीले नै ठेक्का लिएको हेटौंडा–९ बाट हेटौंडा–१३ पदमपोखरी जोड्ने कुखरेनी खोलाको एक सय ३ मिटर पक्की पुलको पनि काम अलपत्र छ । दोस्रोपटक समय थप गरी तीन वर्ष बितिसक्दा पनि निर्माण प्रगति भने ५५ प्रतिशतमात्र भएको कार्यालयको भनाइ छ । ४ करोड ६६ लाख २३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएकोमा ठेकेदार कम्पनीलाई २ करोड ३८ लाख ४१ हजार रुपैयाँ भुक्तानी दिइसकिएको छ ।

त्यस्तै, महावीर, शिखर, तामाकोसी जेभीले एक करोड २१ लाख ६७ हजार रुपैयाँमा ठेक्का लिएको मनहरी–चैनपुर–राक्सिराङ सडकमा बनाइएको १८ मिटर पुलको काम दुईवर्षे समय सकिँदा पनि पूरा भएको छैन ।

इलाइट, सपना, विद्याञ्चल जेभीले ठेक्का लिएको हटिया–बालबोध गुवाबारी सडकमा निर्माणाधीन ४० मिटर लामो पुल पनि अलपत्र छ । हाल ७५ प्रतिशत काम सकिएको उक्त पुलको सम्झौता गत असारमा नै सकिएको छ । कान्तिपुर दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*