अब सबै नेपालीको हातमा लालपूर्जाः मन्त्री अर्याल

बाइलाइन नेपाल
७ मंसिर २०७६, शनिबार १८:०२

हेटौंडा । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्यमा अर्यालले अब सबै नेपालीको हातमा लालपूर्जा हुने बताएकी छिन् । नेकपा मकवानपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले अब सरकारले जग्गा नभएका सर्वसाधारणलाई जग्गा दिने बताएकी हुन् ।

पार्टी कार्यालय सानोपोखरामा भएको कार्यक्रममा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले सुकुम्बासी समस्या समाधानका लागि मन्त्रालयले काम गरिरहेको बताइन् ।

समस्या समाधान गर्न विद्येयक निर्माण गरेर राष्ट्रपति कार्यालयमा प्रमाणिकरणका लागि पठाएको मन्त्री अर्यालले जानकारी दिइन् । प्रमाणिकरण भएर आएपछि सुकुम्बासी समस्या समाधानमा सरकारले लागि हाल्ने उनले आश्वासन
दिइन् ।

विद्येयक प्रमाणिकरण भएपछि भूमिहिन कोही सर्वसाधारण नहुने उल्लेख गर्दै उनले भनिन्– नेकपाको सरकारले सबै जनतालाई भूमिको मालिक बनाउँछ । जमिन वर्षैदेखि भोगचलन गर्दै आएको तर अधिकार नपाएकाहरुलाई लालपूर्जा दिन्छौं । सबैको हातमा लालपूर्जा हुन्छ । ’

नेकपाको सरकारले देश र जनताको विकासमा काम गरेको दाबी गर्दै मन्त्री अर्यालले सुकुम्बासी समस्या समाधानका लागि मन्त्रालयले गरेको कामको अब नतिजा आउने क्रममा रहेको उल्लेख गरिन् । हरेक नेपालीलाई भूमिको अधिकार भएकाले कोही पनि सुकुम्बासी नहुने नीति नेकपा सरकारले ल्याएको बताइन् ।

कार्यक्रममा उनले सीमा समस्या नेकपाको सरकारले नै समाधान गर्ने बताइन् । सीमाको विवाद सहि समयमा उठान भएको उल्लेख गर्दै मन्त्री अर्यालले नेपाल सरकारले आफ्नो भूमिसहितको आधिकारीक नक्सा भारत सरकारलाई दिइसकेकाले अब छलफलबाट समस्याको समाधान हुने उल्लेख गरिन् ।

बालुवाटार जग्गाको विवाद २४ वर्ष अघिको भएपनि नेकपा सरकारले नै यसको समाधान गर्ने दाबी गरिन् । उनले जग्गा बाझो नराख्न र कृषि उत्पादनमा लाग्न सबैलाइृ आग्रह गरिन् ।

नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ३ का सचिवालय सदस्य अन्नत पौडेल, प्रदेश ३ का कृषि मन्त्री दावा दोर्जे लामा, प्रदेश सदस्य सर्केश घलान, जिल्ला सचिव प्रेमबहादुर पुलामी, जिल्ला सचिवालय सदस्य कमानसिं पाख्रिन, बद्री लम्साल, लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

चार जिल्लाका गाउँपालिका अध्यक्षहरुको भेलालाई सम्बोधन गर्न मन्त्री अर्याल हेटौंडा आएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*