भीमफेदी कारागारबाट कैदी फरार, सुरक्षाकर्मीको मिलेमतोको आशंका

बाइलाइन नेपाल
१ मंसिर २०७६, आईतवार १७:१८

हेटौंडा । मकवानपुरको भीमफेदीमा रहेको क्षेत्रिय कारागारबाट गएराती एक कैदी फरार भएका छन् । कारागारको सुरक्षा र अग्लो पर्खालका बीच कैदी फरार भएपछि सुरक्षाकर्मीकै सम्लग्नतामा घटना भएको आंशका गरिएको छ । कारागारमा सुरक्षामा शसस्त्र प्रहरी र जनपथ प्रहरी खटिएपनि कैदी भाग्न सफल भएका हुन् ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटी रहेका ३० वर्षका कुलदिप राज धामी फरार भएको कारागारका प्रमुख प्रकाश खनालले जानकारी दिए । उनलाई अहिलेसम्म प्रहरीले फेला पार्न सकेको छैन । जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा २० वर्ष जेल तोकिएका धामीले ५ वर्षदेखि सजाय काटिरहेका थिए ।

कारागार वरिपरी १२ फिट भन्दा अग्लो पर्खाल नाघेर भाग्न एक्लैले सम्भव नरहेको भन्दै प्रमुख खनालले अनुसन्धान भइरहेको जानकारी दिए । राती कारागारबाट भागेपछि अन्यत्र जान सवारीसाधान समेत नपाइने भएकाले मिलेमतोमै फरार भएको हुन सक्ने उनको भनाइ छ । कारागारबाट कैदी फरार भएपछि खोजी र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

फरार धामीको खोजीका लागि उनको स्थाथी घर चितवन र पुरोनो ठेगाना सुनसरीमा समेत खोजबिनका लागि प्रहरीलाई खटाइएको सिंहले बताए । कारागारमा रहेका कैदीहरुको आन्तरिक प्रशासनले राती पौने १० बजे आफुलाई खबर गरेपछि तत्काल खोजी कार्य अघि बढाइएको कारागार प्रमुख खनालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*