रुख काटेको आरोपमा वकैयाका दुईजना जेल चलान

बाइलाइन नेपाल
२६ कार्तिक २०७६, मंगलवार १०:१८
फाइल फोटो

अनियमित रुपमा रुखहरु कटान गरी वन पैदावार हानी नोक्सानी गरेको मुद्दामा जिल्ला अदालत मकवानपुरले सामुदायिक वन उपभोक्ता समितिका दुई सदस्यलाई जेल चलान गरेको छ ।

मकवानपुरको बकैया गाउँपालिका–८ मा रहेको देउताखोला सामुदायिक वनका दुईजना कार्यसमिति सदस्यलाई अदालतले मागेको धरौटी बुझाउन नसकेपछि जेल चलान गरिएको हो ।

उपभोक्ता समूहका सदस्य पातलीमाया भुलुन र सदस्य सितामाया घ्यावासँग जिल्ला अदालत मकवानपुरले आइतबार जनही ११ लाख १७ हजार रुपैयाँ नगद वा जेथा जमानत धरौटी मागेको थियो । तर उनीहरुले धरौटी बुझाउन नसकेपछि दुवैलाई चितवनको भरतपुर कारागार चलान गरिएको डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत नरेश पूर्वेले जानकारी दिए ।

वन ऐन २०४९ को दफा ६४ को २ बमोजिम उनीहरुसँग धरौटी माग गरेको अदालतको आदेशमा उल्लेख छ । सामुदायिक वनमा अनाधिकृत रुपमा १४ हजार ८ सय ३६ क्यूफिट काठ कटान भएको आरोपसहित डिभिजन वन कार्यालय मकवानपुरले अदालतमा मुद्दा दायर गरेको थियो । अनियमित रुपमा रुख कटान गरेको ठहरसहित सोही वन समूहका अध्यक्ष पनि ३ महिना जेल बसेर धरौटी बुझाएपछि यसअघि नै रिहा भइसकेका छन् । कान्तिपुर दैनिकमा सुवास विडारीले लेखेको समाचार साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*