सात महिनापछि बागमतीको लोकसेवा आयोगले पायो अध्यक्ष

बाइलाइन नेपाल
५ कार्तिक २०८१, सोमबार ०७:२८

हेटौंडा । बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् । बागमती प्रदेश अध्यक्ष दिपकप्रसाद देवकोटाले आइतबार श्रेष्ठलाई लोक सेवा आयोग अध्यक्षमा नियुक्त गरेका हुन् ।

श्रेष्ठ नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ निवासी हुन् । श्रेष्ठ बिहीवार मात्रै सरकारी सेवाबाट अवकाश भएका थिए । उनी लुम्बिनी प्रदेशको बुटवलस्थित स्वास्थ्य तालिम केन्द्रको निर्देशक पदमा कार्यरत थिए । उनी ११औं तह सहसचिव हुन् । उनी तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको प्राविधिक सल्लाहकारमा समेत नियुक्त भएका थिए ।

उनलाई लोकसेवा आयोगको अध्यक्ष नियुक्त गर्न मुख्यमन्त्री बहादुरसिं लामा, सभामुख भुवनकुमार पाठक र विपक्षी दलका नेता शालिकराम जम्मकट्टेल सम्मिलित ३ सदस्यीय समितिले २१ असोजमा सिफारिस गरेको थियो ।

२ मंसिर २०७६ मा गठित आयोगको अध्यक्ष सुरेशमान श्रेष्ठ उमेर हदका कारण  ३ चैत २०८० बाट पदमुक्त भएका थिए । पटक–पटक सरकार परिवर्तन र सत्तारुढ दलहरुबीच सहमति हुन नसक्दा ७ महिनादेखि आयोगको अध्यक्ष नियुक्त हुन सकेको थिएन ।

श्रेष्ठलाई आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस भएपछि आयोगका सदस्य सुदर्शन ढकालले पदबाट राजीनामा दिएका थिए । कनिष्ट व्यक्तिलाई अध्यक्ष नियुक्त गर्न लागेको थाहा पाएपछि ढकालले शुक्रबार प्रदेश प्रमुख दिपकप्रसाद देवकोटा समक्ष राजीनामा दिएका थिए । ६ माघ २०७६ मा सदस्य नियुक्त भएका ढकालले ४ वर्ष ९ महिना काम गरेर राजीनामा दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*