मनहरीमा सामूहिक बलात्कारको आरोपमा श्रीमान पक्राउ

बाइलाइन नेपाल
४ कार्तिक २०८१, आईतवार ०८:०५

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा ५० वर्षीया महिलामाथि सामूहिक बलात्कारको घटना भएको छ । पीडित महिलाले १ कात्तिकमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उजुरीको आधारमा उनका श्रीमान पक्राउ परेका छन् ।

३० असोजमा मनहरी गाउँपालिका–५, स्थित आफ्नै घरमा महिलामाथि उनका श्रीमान र दुई किशोरले सामूहिक बलात्कार गरेको उजुरी परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

पीडित महिलाले ३० असोज रातको समयमा ६० वर्षीय श्रीमान र १९, २० वर्षका दुई युवाले आफूमाथि सामूहिक बलात्कार गरेको उजुरीमा बताएकी छन् ।

प्रहरीले श्रीमानलाई १ कात्तिकमा पक्राउ गरेर शुक्रबार मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेको छ । आरोपित दुई युवा भने फरार रहेका छन् । डीएसपी अर्यालका अनुसार पीडित महिलाले दुई किशोरको अन्दाजी उमेर १९ र २० वर्ष हुनसक्ने बताए पनि पहिचान गर्न नसकेको बताएकी छन् ।

‘महिलाले श्रीमानसहित दुई जना किशोरले बलात्कार गरेको बताउनुभएको छ । किशोरहरुलाई आफू नचिन्ने उहाँले बताउनुभएको छ । दोषी पत्ता लगाउन हामीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेका छौं’, डीएसपी अर्यालले भने ।

पीडित महिलालाई हेटौंडास्थित महिला सेफ हाउसमा राखिएको छ । उनको स्वास्थ्य अवस्था ठीक रहेको डिएसपी अर्यालले बताए । उनका अनुसार पीडित महिलाले ३ वर्षअघि मात्रै दोस्रो विवाह गरेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*