वाग्मतीमा दुई वटा विधेयक प्रमाणीकरण, एउटा विधेयक फिर्ता

बाइलाइन नेपाल
१ कार्तिक २०८१, बिहीबार २०:४७

वाग्मती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले दुईवटा विधेयक प्रमाणीकरण गर्दै एउटा विधेयक पुनर्विचारका लागि प्रदेशसभामा फिर्ता पठाएका छन् ।

प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाको असोज ७ गते बसेको बैठकले पारित गरेका दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् भने अर्को एउटा विधेयक फिर्ता पठाएका छन् ।

प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश हस्तकला स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बिहीबार उनले प्रमाणीकरण गरेका हुन् । प्रमाणीकरण भएको विधेयक प्रदेश राजपत्रमा प्रकाशित भएपछि ऐनको रुपमा लागू हुनेछ ।

संविधानको धारा १०१ को उपधार ३ अनुसार ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पुनर्विचारका लागि प्रदेशसभामा फिर्ता पठाएका छन् । यस विधेयक प्रमाणीकरणका लागि प्रदेशसभाको अघिल्लो बैठकले सर्वसम्मतरुपमा पास गर्दै प्रदेश प्रमुख समक्ष पठाएको थियो ।

प्रदेश प्रमुख देवकोटाले प्रदेश सभाका सभामुखलाई सम्बोधन गरी उक्त विधेयक फिर्ता गरेका हुन् । फिर्ता गरिएको विधेयक सभामा छलफल गरी संसोधनसहित पारित भइ पुनः प्रमाणीकरणको लागि पठाउनु पर्ने संवैधानिक व्यवस्था छ ।

‘प्रदेश प्रमुखले कृषि तथा पुशपन्छी विकास मन्त्री र उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रीसँग आन्तरिक छलफल गरेर विधेयक प्रदेशसभामा फिर्ता पठाउनु भएको हो,’ प्रदेश प्रमुख कार्यालय स्रोतले भन्यो । प्रदेशमा कृषि मन्त्री प्रकाश श्रेष्ठ र उद्योग मन्त्री शुकमाया तामाङ रहेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*