‘प्रहरीले प्रतिकूलतामा पनि राष्ट्रको हितमा काम गरिरहेको छ’

बाइलाइन नेपाल
१ कार्तिक २०८१, बिहीबार ०८:४८

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा (तामाङ)ले प्रहरी संगठनले अनेका खालका प्रतिकूलतामा पनि राष्ट्र र नागरिकको हितमा काम गर्दै आएको भन्दै प्रशंसा गरेको छ ।

‘प्रहरी संगठनको आफ्नै गौरवमय इतिहास छ, त्यो इतिहासलाई कायम राख्दै नागरिकको जीउधनको सुरक्षार्थ प्रहरी खटिँदै आएको छ,’ उनले भने ।

६९ औं प्रहरी दिवसको अवसरमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडामा बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री लामाले सरकार कस्तो छ भन्ने परिचय प्रहरीहरुको व्यवहारबाट छुट्टिने भएकाले प्रहरीहरु इमान्दार र सक्रिय हुनु पर्ने बताए । बाढीपहिरो र भूकम्पका बेलामा प्रहरी संगठनले गरेका उद्धार कार्यको प्रशंसा गर्दै मुख्मन्त्री लामाले भने,‘वाग्मती प्रदेश सरकारले प्रहरी संगठनलाई सक्षम र दक्ष बनाउनका लागि सहयोग गर्दै आइरहेको छ ।’

प्रदेश सरकारले प्रहरी संगठनका लागि अभिभावकको भूमिका खेलेको उल्लेख गर्दै मुख्यमन्त्री लामाले पूर्वाधार र सवारी साधनका लागि सरकारले स्थापनाकालदेखि अहिलेसम्म करिब २ अर्ब रुपैयाँ लगानी गरिसकेको बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले विपतका समयमा प्रहरीहरुले आफ्नो ज्यानको प्रवाह नगरी नागरिकको उद्धार कार्यमा जुटेको चर्चा प्रहरीको कामकारबाहीबाट सरकारको मूल्यांकन हुने बताए । आफ्नो घर बाढीपहिरोले भत्काउँदा पनि प्रहरीहरु नागरिकहरुको उद्धारमा तल्लिन रहने गरेको उनको भनाइ छ ।

वाग्मती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्णहरि शर्माको अध्यक्षतामा संचालित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको साथै प्रहरी संगठनमा रहेर उत्कृष्ट कार्य गर्ने प्रहरीहरुलाई सम्मान गरिएको थियो ।

यसैगरी, प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा मंगलवार आयोजित कार्यक्रममा अमर शहिद परिवारलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । ड्युटीमा खटिएको अवस्थामा ज्यान गुमाएका अमर सहिदका परिवारलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । २०८० भदौ २० गते सिन्धुपाल्चोकमा जिम्मेवारी वहन गरिरहेको अवस्थामा ज्यान गुमाएका मकवानपुर राक्सिराङ गाउँपाालिका-५ का प्रहरी जवान शिवनकुमार चेपाङका परिवारलाई ६० हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सिन्धुपाल्चोकको कोदारी बजारबाट लिपिङतर्फ पैदल गस्ती गरिरहेको अवस्थामा स्कुटरले ठक्कर दिँदा प्रहरी जवान चेपाङको मृत्यु भएको थियो । कार्यक्रममा एक दर्जनभन्दा बढी अमर सहिदका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*