हेटौंडामा लिफ्टसहितको तरकारी बजार अन्तिम चरणमा

बाइलाइन नेपाल
२३ आश्विन २०८१, बुधबार १४:४२

हेटौंडा । बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा हेटौंडामा निर्माधिन प्रादेशिक कृषि थोकबजार निर्माण अन्तिम चरणमा पुगेको हो । हेटौंडा–१ स्थित राप्ती खोलाको नदीको उकास जमिनमा निर्माण भईरहेको थोकबार प्रदेश सरकारको महत्त्वपूर्ण आयोजनाको रूपमा रहेको छ ।

प्रदेश सरकारको ७० र स्थानीय तहको ३० प्रतिशत लगानीमा बनेको उक्त थोक बजारको काम ४ प्रतिशतमात्र बाँकी छ । थोक बजार क्षेत्रका सडक र विद्युतीकरणको काम बाँकी रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

२०७८ असार १८ मा बागमतीका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल र उपमहानगरपालिकाका तत्कालीन मेयर हरिबहादुर महतले यसको शिलान्यास गरेका थिए । २ बिघा ४ धुर क्षेत्रफलमा तीन वर्ष लगाएर थोकबजार निर्माण गर्ने लक्ष्यसहित २०७७ भदौ १४ मा हेटौंडा उपमहानगरपालिकासँग सम्झौता भएको थियो ।

९६ प्रतिशत भौतिक प्रगति भएको बजारको कार्यविधि बनाएर सञ्चालनको तयारी भइरहेको मन्त्रालयको भनाइ छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा निर्माण भएको कृषि थोक बजारमा ४ वटा सुविधासम्पन्न भवन छन् भने एउटा कोल्ड स्टोर निर्माण गरिएको छ ।

सडक कालोपत्रे र अन्य सामान्य काममात्रै गर्न बाँकी रहेको निर्देशनालयका सबइन्जिनियर मोदनाथ तिमल्सिनाले जानकारी दिए ।
थोकबजारमा होलसेल मार्केट, रिटेल मार्केट, किसानको टहरा, प्रशासनिक तथा क्यान्टिन, कोल्ड स्टोरेजलगायतका संरचना बनेका छन् । यसमा २ वटा लिफ्टको सुविधासमेत छ ।

कार्गो र मानिसहरूको आवतजावतका लागि फरकफरक लिफ्टको सुविधा रहेको तिमल्सिनाले बताए । थोक बजारको थोक मार्केटमा ४० वटा सटर र खुद्रा मार्केटमा २३ वटा सटर छ । भवनमा अण्डरग्राउण्ड पार्किङको सुविधा छ ।

भण्डारण, शीतभण्डार, प्याकिङ, ग्रेडिङ र प्रशोधन जस्ता कार्य गर्न सकिने गरी थोक बजार निर्माण गरिएको तिमल्सिनाले बताए । ए एन केरमाउण्टेनले ३० करोड ८७ लाख ६२ हजार ७८७ रुपैयाँमा ठेक्का लिएको उक्त थोकबजार निर्माणको काम २०७८ जेठबाट थालिएको थियो । निर्माण कम्पनीलाई २६ करोड ५५ लाख ३५ हजार ९९६ रुपैयाँ गत असारमै भुक्तानी भएर थप २ करोडभन्दा बढीको भुक्तानीको चरणमा रहेको निर्देशनालयले जानकारी दिएको छ ।

२०८१ जेठसम्ममा सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि विविध कारणले निर्धारित समयमा काम सम्पन्न हुन सकेको थिएन । निर्माणको काम सम्पन्न गर्नेगरी ७ महिना म्याद थप गरेर आगामी मंसिर ८ सम्मको समयसीमा दिइएको थियो । चालु आर्थिक वर्ष ९२०८१र०८२० मा प्रदेश सरकारले थोक बजारको काम सम्पन्न गर्न ४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*